पाथीभरा केवलकार बिबाद: ‘नो केवलकार’पक्षद्धारा आन्दोलनको घोषणा,बन्द देखि प्रतिरोध सम्मका कार्यक्रम

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ १३ । शनिवार पाथीभरा क्षेत्रमा भएको झडप र ‘नो केवलकार पक्षधर’माथि गोली प्रहार सहितको आक्रमण भएको भन्दै ७ बुँदे माग राखेर आन्दोलन सुरु भएको छ ।
५ वटा संस्थाहरुले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका छन् । आन्दोलन बन्द हड्ताल देखि प्रतिरोध सम्मका रहेको विज्ञप्ति जारी गर्ने संस्थाहरुले बताएका छन् । मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति,पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति,किराँत याक्थुङ चुम्लुङ संघीय समिति,थरगत संस्था सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघले विज्ञप्तिमार्फत संयुक्त रुपमा आन्दोनको घोषणा गरेका हुन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा माघ १५ गते मंगलवारबाट मेची राजमार्ग,तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरुमा यातायात बन्दको घोषण गरिएको छ ।
यस्तै पाथीभरामा केवलकार निर्माणको जिम्मेवारी पाएको पाथीभरा(मुक्कुमलुङ)दर्शन केवलकार प्रालिका अध्यक्ष चन्द्र ढकाल अध्यक्ष रहेको ग्लोवल आईएमई बैंकका ताप्लेजुङ देखि सुनसरी सम्मका जिल्लाका बैंकहरु बन्द गर्नुपर्ने, ग्लोवल आईएमई बैंकमा माघ १४ गते शान्तिपूर्ण प्रर्दशन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । ढकाल र पाथीभरा(मुक्कुमलुङ)दर्शन केवलकार प्रालिका जनसम्पर्क अधिकृत रुद्र पौडेललाई ताप्लेजुङ जिल्लामा निशेध गर्ने,फुङलिङ नगरप्रमुख अमिर मादेनलाई बंशगद्दार घोषणा गर्दै ताप्लेजुङ जिल्ला बाहिर निशेध गर्ने सहितका आन्दोलनका कार्यक्रम घोषणा गरिएका छन् । उनीहरुले पाथीभरा क्षेत्र विकास समितिको खारेजी हुनुपर्ने माग राखेका छन् ।
विज्ञप्तिमा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी प्रमुखले सार्वजनिक रुपमा माफी माग्नुपर्ने उल्लेख गरिएको छ । शनिवार पाथीभरा क्षेत्रमा केवलकारको बिरोध गरिरहेको समूहका कार्यकर्ता र सुरक्षाकर्मीबिच दुईपटक झडप भएको थियो । पहिलोपटकको झडपका क्रममा अश्रुग्याँस प्रहार गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरेको सुरक्षाकर्मीको टोलीले दोस्रोपटक अवस्था नियन्त्रण बाहिर गएपछि बाध्य भएर आत्मरक्षाका लागि गोली चलाएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । गोली लागेर तथा झडपको क्रमा घाइते भएका केवलकारको बिरोध गरिरहेको समूहका ३ जनाको अहिले काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते भएका ७ सुरक्षाकर्मीको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी प्रमुख रवि रावलले जनाउनु भएको छ । झडपका क्रममा दुबैतर्फ गरी २५ जना घाईते भएकोमा बाँकी प्राथमिक उपचार पछि घर फर्किएको जिल्ला स्थित सुरक्षा स्रोतले जनाएको छ ।