मिक्वाखोला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा साँवा मावि पहिलो

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १३ । मिक्वाखोला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा साँवा मावि पहिलो भएको छ ।
३६ स्वर्णका साथ कूल ८१ पदकका साथ साँवा मावि पहिलो भएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार २६ स्वर्ण सहित ६० पदकका साथ मोति मावि खोक्लिङ दोस्रो भएको छ । २ स्वर्ण सहित १३ पदकका साथ पञ्चेश्वरी मावि लिवाङ तेस्रो हुँदा २ स्वर्ण सहित १० पदकका साथ बाल्देन मावि पापुङ चौथो भएको थापाले जानकारी दिनुभयो ।
पालिका अध्यक्ष भक्तबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा पालिका उपाध्यक्ष डण्डु लामा शेर्पा,मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका वडाध्यक्ष सदनकुमार साँवा,पालिकाको शिक्षा तथा योजना शाखाका प्रमुख बिमलकुमार यक्सो सहितको उपस्थिति रहेको थियो । मिक्वाखोला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकिएसंगै ताप्लेजुङका ९ वटै पालिकाले पालिका स्तरीय प्रतियोगिता सम्पन्न भएका छन् ।
जिल्ला खेलकुद विकास समितिले माघ २७ गते देखि मैवाखोला गाउँपालिका वडा नं ३ स्थित नारायणी मावि साँघुमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड गर्ने घोषणा गरिसकेको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा ६ बिधामा ६६ स्वर्ण,६६ रजत र ७० कास्य पदकका लागि स्पर्धा हुनेगरी कार्यतालिका सार्वजनिक गरेको छ ।