बिशेषज्ञ चिकित्सक प्रोत्साहन सुविधाका लागि कोशीद्धारा जिल्लाको बर्गिकरण,तीनसय प्रतिशतसम्म भत्ता दिइने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १२ । बिशेषज्ञ चिकित्सक प्रोत्साहन सुविधाका लागि कोशी सरकारले प्रदेशभरीका जिल्लाको बर्गिकरण गरेको छ ।
कोशी प्रदेशका नागरिकलाई गुणस्तरीय र बिशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न बिशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यविधि लागु गर्दै प्रदेश सरकारले प्रदेशभरीका जिल्लाहरुलाई ४ वर्गमा बर्गिकरण गरेको हो । कार्यविधि अनुसार ‘क’वर्गमा ताप्लेजुङ र सोलुखुम्बु परेका छन् । ‘ख’वर्गमा पाँचथर,भोजपुर,तेह्रथुम,संखुवासभा,ओखलढुङ्गा र खोटाङ परेका छन् । ‘ग’वर्गमा धनकुटा,उदयपुर र इलाम पर्दा ‘घ’वर्गमा झापा,मोरङ र सुनसरी परेका छन् ।
कार्यविधिमा प्रदेश सरकारबाट नयाँ संगठन संरचना स्वीकृत नहुँदा सम्म भौगोलिक विकटता भएका एवम् दुर्गम जिल्लाका अस्पताल र बिशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालका हकमा दिइने बिशेषज्ञ चिकित्सक प्रोत्साहन रकम पाउनेहरु समेत एकिन गरिएको छ । जस अनुसार ताप्लेजुङ,तेह्रथुम,धनकुटा,ओखलढुङ्गा,सोलुखम्बु,खोटाङ र भोजपुरका लागि एकैदरका बिशेषज्ञता भएकमा व्यक्तिले उक्त प्रोत्साहन रकम पाउने छन् । उल्लेखित जिल्ला अस्पतालहरुमा कार्यरत एमडीजिपी एकजना,पेडियाट्रिक्स एकजना,जनरल मेडिसिन एकजना,अब्स्ट्रटिक्स तथा गाइनोकोलोजी एकजनालाई बिशेषज्ञ सरह प्रोत्साहन रकम उपलब्ध गराउन सकिने कार्यविधिमा उल्लेख गरिएको छ ।
जिल्ला अस्पताल पाँचथर र उदयपुरको कटारी अस्पतालका लागि एमडीजिपी एकजना,पेडियाट्रिक्स एकजना,जनरल मेडिसिन एकजना,अब्स्ट्रटिक्स तथा गाइनोकोलोजी सहित जनरल सर्जरी एकजना र एनेन्सथेसियोलोजी एकजना समेतलाई प्रोत्साहन रकम उपलब्ध गराइने भएको छ । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको हकमा एमडीजिपी एकजना,पेडियाट्रिक्स एकजना,जनरल मेडिसिन एकजना,अब्स्ट्रटिक्स तथा गाइनोकोलोजी सहित अर्थोपेडिक सर्जरी एकजना,रेडियोलोजी एकजना,एनेन्सथेसियोलोजी एकजना र जनरल सर्जरी एकजा समेतलाई प्रोत्साहन रकम उपलब्ध गराइने कार्यविधिमा उल्लेख गरिएको छ ।
‘क’वर्गमा परेका जिल्लाहरुको हकमा न्यूनतम् सेवा मापदण्ड अंक ८५ प्रतिशत वा सो भन्दा माथि भए आधारभूत तलवमानको तीनसय प्रतिशत सम्म,७० देखि ८४ प्रतिशत भए आधारभूत तलवमानको २ सय २५ प्रतिशत सम्म र ५० दखि ६९ प्रतिशत सम्म भए आधारभूत तलवमानको १ सय ५० प्रतिशत सम्म प्रोत्साहन भत्ता उपलब्ध गराउन सकिने कार्यविधिमा उल्लेख गरिएको छ ।
‘ख’वर्गमा परेका जिल्लाहरुको हकमा न्यूनतम् सेवा मापदण्ड अंक ८५ प्रतिशत वा सो भन्दा माथि भए आधारभूत तलवमानको दुईसय प्रतिशत सम्म,७० देखि ८४ प्रतिशत भए आधारभूत तलवमानको १ सय ५० प्रतिशत सम्म र ५० दखि ६९ प्रतिशत सम्म भए आधारभूत तलवमानको सतप्रतिशत सम्म प्रोत्साहन भत्ता उपलब्ध गराउन सकिने भएको छ ।
‘ग’वर्गमा परेका जिल्लाहरुको हकमा न्यूनतम् सेवा मापदण्ड अंक ८५ प्रतिशत वा सो भन्दा माथि भए आधारभूत तलवमानको एकसय प्रतिशत सम्म,७० देखि ८४ प्रतिशत भए आधारभूत तलवमानको ७५ प्रतिशत सम्म र ५० दखि ६९ प्रतिशत सम्म भए आधारभूत तलवमानको पचास प्रतिशत सम्म प्रोत्साहन भत्ता उपलब्ध गराउन सकिने भएको छ ।
‘घ’वर्गमा परेका जिल्लाहरुको हकमा न्यूनतम् सेवा मापदण्ड अंक ८५ प्रतिशत वा सो भन्दा माथि भए आधारभूत तलवमानको पचास प्रतिशत सम्म,७० देखि ८४ प्रतिशत भए आधारभूत तलवमानको ३५ प्रतिशत सम्म र ५० दखि ६९ प्रतिशत सम्म भए आधारभूत तलवमानको २५ प्रतिशत सम्म प्रोत्साहन भत्ता उपलब्ध गराउन सकिने भएको छ ।