पालिकाका प्रत्येक वडामा न्यूनतम् भौतिक पूर्वाधार पूरा गर्दै आठराई त्रिबेणी गाउँपालिका

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ११ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं १ मा वडा कार्यालय देखि बर्थिङ सेन्टर सम्मका पूर्वाधार निर्माण सम्पन्न भएका छन् ।
पालिकाका प्रत्येक वडामा न्यूनतम् भौतिक पूर्वाधार निर्माण गरिसक्ने योजना अनुरुप वडा नं १ निघुरादिनमा वडा कार्यालय,बर्थिङ सेन्टर,सामुदायिक स्वास्थ्य इकाई र महिला सामुदायिक भवन निर्माण पूरा भएका हुन् । चारवटै भवनको पालिका अध्यक्ष दीपेन्द्र(दीपेन)पोमूले उद्घाटन गर्नु भएको छ । पालिकाको पहल,प्रयास र साझेदारीमा उक्त भवन निर्माण कार्य पूरा भएका हुन् ।
पालिका अध्यक्ष पोमूले पालिकाका ५ वटै वडामा न्यूनतम् भौतिक पूर्वाधार निर्माण कार्य पूरा गर्नेगरी काम अघि बढेको जानकारी दिनुभयो । उक्त योजना निघुरादिनबाट सुरु भएको र चाँडै पालिकाका सबै वडामा पुग्ने उहाँले बताउनुभयो । अन्य ४ वटा वडामा समेत न्यूनतम् भौतिक पूर्वाधारका कामहरु भइरहेकोले पालिकाका सबै वडा यस्ता संरचनाले भरिने जानकारी दिनुभयो ।
अध्यक्ष पोमूले भवन निर्माणका लागि सहयोग गर्ने जग्गादाता देखि समयमै निर्माण कार्य पूरा गर्ने निर्माण व्यवसायी समेतप्रति आभार व्यक्त गर्नु भएको छ । निघुरादिनमा सम्पन्न उक्त चारवटा पूर्वाधार निर्माणका लागि करिव २ करोड रुपैयाँ खर्च भएको पालिकाले जनाएको छ ।