स्थापना दिवसमा तीन पत्रकारलाई पुरस्कृत गर्दै प्रेस चौतारी

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १० । प्रेस चौतारी नेपाल ताप्लेजुङले प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसर पारेर तीनजना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य खगेन्द्र अधिकारी,प्रदेश सदस्य केशवप्रसाद भट्टराई र केन्द्रीय प्रतिनिधि सुवास आचार्य सहितको उपस्थितिमा बसेको प्रेस चौतारी नेपाल ताप्लेजुङको बैठकले शाखाको अधिबेशन तथा पुरस्कार बितरण कार्यक्रम एकैदिन गर्नेगरी मिति तय गरेको प्रेस चौतारी नेपाल ताप्लेजुङका अध्यक्ष बसन्त पालुङ्वाले जानकारी दिनुभयो । प्रेस चौतारी नेपालले माघ २२ गते आफ्नो २७ औं स्थापना दिवस मनाउँदै छ ।
पालुङ्वाका अनुसार १० हजार १ सय ५ रुपैयाँ राशीको जयमति–कर्णबहादुर पत्रकारिता पुरस्कार प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठलाई दिइने भएको छ । श्रेष्ठ वेलकम खबर अनलाइनका सञ्चालक समेत हुनुहुन्छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघु पुख्र्यौली घर भइ हाल काठमाडौंमा रहेर बैदेशिक रोजगार व्यवसायमा आबद्ध बलबहादुर तामाङले आफ्नी आमा जयमति तथा बुबा कर्णबहादुरको सम्मानमा प्रेस चौतारी नेपाल ताप्लेजुङमा अक्षयकोष स्थापना गर्नु भएको छ । सोहि अक्षयकोषमार्फत जयमति–कर्णबहादुर पत्रकारिता पुरस्कार बितरण गर्न लागिएको हो । अक्षयकोषका संरक्षक तामाङ बैदेशिक रोजगार व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।
१० हजार १ सय ५ रुपैयाँ राशीकै भीमादेवी–अग्निप्रसाद पत्रकारिता पुरस्कार प्रेस चौतारी नेपाल ताप्लेजुङका उपाध्यक्ष तथा पत्रकार महासंघ ताप्लेजुङका कोषाध्यक्ष मदन गौतमलाई दिइने भएको छ । गौतम रेडियो ताप्लेजुङमा आवद्ध हुनुहुन्छ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा पुख्र्यौली घर भइ हाल काठमाडौंमा रहेर पर्यटन व्यवसायमा जमेका ईश्वरी पौडेलले आमा भीमादेवी र बुबा अग्निप्रसादको सम्मानमा उक्त पुरस्कार स्थापना गर्नु भएको हो । पौडेलले यो पुरस्कारका लागि प्रेस चौतारी नेपाल ताप्लेजुङमा अक्षयकोष राख्नु भएको छ ।
प्रेस चौतारी नेपाल ताप्लेजुङको आफ्नै स्रोतबाट व्यवस्थापन भएको प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार पत्रकार लोकेश लिवाङलाई दिइने भएको छ । १० हजार १ सय ५ रुपैयाँ राशीको उक्त पुरस्कार प्रेस चौतारी नेपाल ताप्लेजुङले चौतारीइतर संगठनका सक्रिय पत्रकारलाई बितरण गर्दै आईरहेको छ । प्रेस सेन्टरमा आबद्ध लिवाङ रेडियो कावेलीमा कार्यरत हुनुहुन्छ ।