चालु आवको ६ महिना : ताप्लेजुङमा पुँजीगत बजेटको परिचालन ज्यादै न्यून

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ७ । चालू आर्थिक बर्षको ६ महिनाको अवधिमा ताप्लेजुङमा चालु बजेटको तुलनामा पुँजीगत बजेट ज्यादा न्यून मात्रामा परिचालन भएको देखिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार संघीय भन्दा प्रदेशतर्फको पुँजीगत बजेटको निकासा झन् निरासाजनक देखिएको छ । कोष नियन्त्रक गणेशकुमार पोखरेलका अनुसार प्रदेशतर्फ चालु आवको पुस महिना सम्ममा पुँजीगततर्फ ६.८१ प्रतिशत बजेट मात्र परिचालन भएको छ । पोखरेलका अनुसार प्रदेशतर्फ १२ करोड ५६ लाख ९४ हजार ६ सय ८७ रुपैयाँ बजेट रहेकोमा पुस मसान्त सम्ममा ८५ लाख ६२ हजार ६ सय ९० रुपैयाँ खर्च भएको छ । पुँजीगत बजेटको तुलनामा चालु बजेट भने निकै ठूलो परिमाणले खर्च भएको कोलेनिकाले जनाएको छ ।

कोलेनिकाका सहायक लेखापाल नवीन खनालका अनुसार प्रदेशको चालुतर्फ कूल ४४ करोड ९७ लाख ५५ हजार ७ रुपैयाँ बजेट रहेकोमा १२ करोड २७ लाख ७७ हजार २ सय ७२ रुपैयाँ खर्च भएको छ । प्रतिशतका हिसावले यो हाराहारी २८ प्रतिशत हुन आउँछ । यस्तै संघीयतर्फ पुँजीगत बजेटको १२ प्रतिशत हाराहारी मात्र खर्च भएको छ । कोष नियन्त्रक पोखरेलका अनुसार पुँजीगततर्फ ९७ करोड ५२ लाख ४६ हजार रुपैयाँ बजेट रहेकोमा ११ करोड ६७ लाख ६७ हजार २ सय ३९ रुपैयाँ खर्च भएको छ । प्रदेशतर्फ झैं संघीयतर्फ पनि पुँजीगत बजेटको तुलनामा चालु बजेटको ठूलो हिस्सा खर्च भएको देखिएको छ । संघीय बजेटको चालुतर्फ ४१.५२ प्रतिशत हाराहारी बजेट खर्च भएको देखिएको छ । कोलेनिकाका अनुसार चालुतर्फ ४ अर्ब २१ करोड ३० लाख ३३ हजार ८ सय ३३ रुपैयाँ बजेट रहेकोमा १ अर्ब ७४ करोड ९३ लाख ५७ हजार ३ सय ७० रुपैयाँ खर्च भएको छ ।

नेपालमा बजेटलाई पुँजीगत र चालु गरी दुई भागमा विभाजन गरिएको छ । विकासमा गरिने खर्च पुँजीगत खर्च हो । पुँजीगत खर्च मूलत विकास र सुधारका लागि गरिन्छ । योजना,नीति, कार्यक्रम र बजेटमा भौतिक सुधार र परिवर्तनको लागि प्रक्षेपण गरिने खर्च पुँजीगत खर्च हो । तलव,भत्ता,प्रशासनिक खर्च,मसलन्द खर्च,कार्यालय सञ्चालन खर्च सहितलाई चालु बजेट भनिन्छ । विकास खर्च मानिएको पुँजीगत खर्च अपेक्षाकृत बढ्न नसक्दा यसले विकासको सन्तुलन समेत गुमाउने भएकोले कार्यको प्रभावकारी गुणस्तरलाई हेरेर विकास बजेट परिचालनमा तीव्रता ल्याउनु अनिवार्य मानिन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts