स्थलगत रुपमै व्यवसाय दर्ता हुनेगरी फुङलिङ नगरपालिकाद्धारा अनुगमनलाई तीव्रता
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २४ । व्यवसायको प्रकृति अनुसार स्थलगत रुपमै व्यवसाय दर्ता समेत हुनेगरी फुङलिङन गरपालिकाको संयोजनमा बजार अनुगमन गर्न थालिएको छ ।
फुङलिङ नगरपालिकाका अधिकृत(सातौं)प्रकाश तामाङका अनुसार नगरपालिका सहितका निकायमा दर्ता हुनुपर्ने व्यवसाय दर्ता नभए स्थलगत रुपमै दर्ता गर्नेगरी अनुगमन सुरु गरिएको हो । नगरपालिकाका लेखापाल भोलानाथ सिग्देलका अनुसार मंगलवारबाट सुरु भएको अनुगमनका क्रममा २१ वटा पसलको अनुगमन गरिएकोमा १४ वटा नयाँ व्यवसाय दर्ता गरिएको छ । यो कार्यलाई नगरक्षेत्रमा निरन्तरता दिने नगपालिकाका कर्मचारी तुलसा निरौलाले जानकारी दिनु भएको छ ।
नगरपालिकाले व्यवसायको प्रकृति अनुसार दर्ता तथा नविकरणका लागि व्यवसायीहरुलाई सार्वजनिक सूचना दिएको थियो । सार्वजनिक आवह्वान पछि जिल्ला प्रशासन कार्यालयसहितका सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा अनुगमन सहित स्थलगत रुपमै व्यवसाय दर्ताको कार्य थालनी भएको फुङलिङ नगरपालिकाले जनाएको छ ।
अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तु जफत गर्ने,नविकरण हुन बाँकी रहेकालाई नविकरणका लागि निश्चित समय प्रदान गर्ने र प्रकृति अनुसारको व्यवसाय दर्ता तत्कालै गर्नेगरीको अभियान चलाईएको नगरपालिकाका अधिकृत तामाङले जानकारी दिनुभयो । नगरपालिकाले यसका लागि नियमित कार्यतालिका बनाएर बजार अनुगमनलाई निरन्तरता दिनेगरी कार्ययोजना समेत बनाएको छ ।
प्रकृति अनुसार व्यवसाय दर्ता तथा नविकरण,उपभोक्ता अधिकारमैत्री व्यवसाय सञ्चालन,प्रचलित दररेट अनुसारको बिक्री बितरण तथा व्यवसायजन्य क्षेत्रको सफाई सहितलाई अनुगमनको आधार बनाईएको अनुगमन समितिले जनाएको छ । व्यवसायको बैधानिकता पूरा गर्न तथा उपभोग्य म्याद र प्रचलित दररेटलाई आधार मान्दै नियमित रुपमा अनुगमन गरिने नगरपालिकाले प्रष्ट्याएको छ ।