ताप्लेजुङको सिरिजङ्गा गाउँपालिमा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य शिविर सम्पन्न
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १४ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिकाका ८ वटै वडामा अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन गरेको स्वास्थ्य शिविरमा ५ सय ४१ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार सो शिविरका क्रममा अपाङ्गता भएका ३५ जना लाभग्राहीहरुको पहिचान गरी उनीहरुलाई रातो अपाङ्गता परिचयपत्र बितरण गरिएको छ । यस्तै ४०–४० जना लाभग्राहीहरुलाई निलो र पहेंलो तथा ५० जना लाभग्राहीहरुलाई सेतो अपाङ्गता परिचयपत्र बितरण गरिएको समेत गाउँपालिकाले जनाएको छ । पुस १ गते देखि ८ गते सम्म पालिकाका प्रत्येक वडामा पुगेर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका लागि पहिचान तथा स्वास्थ्य शिविरसंगै अपाङ्गता परिचयपत्र बितरण कार्यक्रम सञ्चालन गरेको थियो ।
कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय,सिरिजङ्गा गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीका उक्त कार्यक्रम सञ्चालन भएको गाउँपालिकाले जनाएको छ । पालिका अध्यक्ष लालकृष्ण चौहान,उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बू,प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बे,सम्वन्धित वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य र गाउँसभाका सदस्यहरुको सक्रिय सहजीकरण र सहयोगबाट उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।