रोजगारी दिन श्रम बैंक सञ्चालन गर्दै पाथीभरा याङवरक
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ९ । श्रमिकहरुलाई सम्मानजनक रोजगारीको सुनिश्चितताको लागि ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले श्रम बैंक सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेका अनुसार श्रम बैंक सञ्चालन तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याईएको छ । पालिकाभित्रका बेरोजगार,अनौपचारिक र असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरु,विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने तथा सबै प्रकारका श्रमिकहरुको सम्माजनक रोजगारीको सुनिश्चितताको लागि श्रम बैंक सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले श्रमिकहरुलाई रोजगारीको सुनिश्चतता,अभिलेखीकरण,सामाजिक सुरक्षा,तालिम तथा क्षमता विकासका लागि श्रम बैंक उपयोग गर्ने घोषणा समेत गरेको छ ।
पाथीभरा याङवरकले गाउँपालिका क्षेत्रभित्र रहेका बेरोजगार श्रमिकहरुलाई आबेदनका लागि क्यूआर कोड वा सम्वन्धित वडा कार्यालयमा आफैं उपस्थित भई आबेदन दिन आवह्वान समेत गरेको छ । गाउँपालिकाले फारम भरेका बेरोजगार व्यक्तिहरुको सूची बनाई प्राथमिकतामा आधारमा रोजगारदाताहरुको माग बमोजिम काममा लगाउने घोषणा समेत गरेको छ ।