उच्च शिक्षामा सतप्रतिशतसम्म छात्रबृत्ति दिदैं फक्ताङलुङ
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ४ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्न चाहनेहरु पालिकाभित्रका नागरिकलाई सतप्रतिशत सम्म छात्रबृत्ति दिने घोषणा गरेको छ ।
गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार मादण्ड पुगेका छात्रबृत्ति प्राप्त गर्न चाहनेहरुले फागुन मसान्त सम्ममा पालिकामा निबेदन दिनुपर्ने छ । पालिकाका सूचना अधिकारी जयप्रसाद रिजालका अनुसार एसईई उर्तीण भई गाउँपालिकामा सामुदायिक बिद्यालयहरुमा पठनपाठन नहुने संकायहरुमा कक्षा ११ र १२ वा अन्य प्राविधिक बिषय जिल्ला भित्रका सामुदायिक बिद्यालय तथा क्याम्पसहरुमा पढ्न चाहनेले ५० प्रतिशत छात्रबृत्ति पाउने छन् । फक्ताङलुङ गाउँपालिका भित्रका सामुदायिक बिद्यालयहरुबाट एसईई र कक्षा ११ र १२ उर्तीण गरी जिल्ला भित्रका सरकारी वा सामुदायिक क्याम्पसहरुमा थप उच्च शिक्षा हासिल गर्न चाहनेहरुले भने सतप्रतिशत छात्रबृत्ति पाउने गाउँपालिकाले जनाएको छ ।
योग्यता र मापदण्ड पुगेकाहरुले छात्रबृत्ति प्राप्त गर्नका लागि गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्ने छ भने ताप्लेजुङ जिल्ला भित्रका सरकारी वा सामुदायिक क्याम्पसमा भर्ना भई नियमित अध्ययन गर्दै गरेको हुनुपर्ने पालिकाको सर्त रहेको छ । सत प्रतिशत छात्रवृत्तिका लागि पालिका भित्रका सामुदायिक बिद्यालयहरुबाट एसईई र कक्षा ११–१२ उर्तीण भएको हुनुपर्ने छ ।
छात्रबृत्ति प्राप्त गर्न चाहनेहरुले शैक्षिक योग्यताको प्रमाणपत्र,नागरिकता प्रमाणपत्रको प्रतिलिपि,नागरिकता प्राप्त नगरेको भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र अभिभावकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने हुन्छ । यस्तै उच्च शिक्षा अध्ययन गर्ने शिक्षण संस्थामा बुझाएको शुल्क बिलको सक्कल प्रति,क्याम्पसले संकाय अनुसार शुल्क निर्धारण गरेको प्रमाणित सूची,बिद्यार्थीको बैंक चेक भए त्यसको प्रतिलिपिका साथ हालसालै खिचेको पासपोर्ट साईजको एकथान समेत संलग्न गरी आबेदन दिनुपर्ने हुन्छ ।
आबेदन पेश गर्नुअघि गाउँ शिक्षा समितिका अध्यक्ष एवम् पालिका अध्यक्षको तोक आदेश लगाई गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखामा निबेदन गर्न गाउँपालिकाले आवह्वान गरेको छ ।