सिकैचाका नवनिर्वाचित वडाध्यक्ष साउदेनलाई पालिका अध्यक्ष चौहानद्धारा शपथग्रहण गराईयो

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २३ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाका नवनिर्वाचित वडाध्यक्ष कुमारी साउदेनले पद तथा गोपनियताको शपथग्रहण गर्नु भएको छ ।
सिरिजङ्गा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले पद तथा गोपनियताको शपथग्रहण गराउनु भएको हो । शपथग्रहण गराए लगत्तै गाउँपालिकाले नवनिर्वाचित वडाध्यक्ष साउदेनलाई बधाई ज्ञापन गरेको थियो । शपथग्रहण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बू,प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बे सहितको उपस्थिति रहेको थियो । गत मंसिर १६ गते भएको उपनिर्वाचनमार्फत साउदेन एमालेबाट सिकैचाको वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
साउदेन ताप्लेजुङ जिल्लाकै एकमात्र महिला वडाध्यक्ष बन्नु भएको छ । ६१ वटा वडा रहेको ताप्लेजुङका अरु ६० वटा वडामा पुरुष वडाध्यक्ष रहनु भएको छ । २०७९ सालको निर्वाचनमार्फत निर्वाचित वडाध्यक्ष दिलप्रसाद बोखिम बैदेशिक रोजगारीमा हङकङ गएर उतैबाट राजीनामा दिएपछि सिकैचाको वडाध्यक्षका लागि उपनिर्वाचन भएको थियो ।
उपनिर्वाचनमार्फत साउदेन बिजेता बन्दा बिजेता साउदेनका भाई अम्बि साउदेन निकटतम् प्रतिश्पर्धी बन्नुभयो । त्यहाँ नेपाली काँग्रेसका भीमकुमार लक्सम्बा,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र काङ्वा लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल समेत प्रतिश्पर्धी हुनुहुन्थ्यो ।