दोस्रो कञ्चनजंघा गोल्डकपको उपाधिका लागि इलाम र धरान भिड्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २० । ताप्लेजुङमा जारी दोस्रो कञ्चनजंघा(सेसेलुङ)अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा रेड डेभिल्स फुटबल क्लव इलाम र धरान सुनसरीको गोधुली फुटबल क्लवबिच उपाधि भिडन्त हुने भएको छ ।
बिहीबार भएको दोस्रो सेमीफाईलन खेलमा न्यू स्टार फुटबल क्लव झापालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै रेड डेभिल्स फुटबल क्लव इलामले गोधुली फुटबल क्लव धरानसंगको भेट पक्का गरेको हो । यसअघि निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको थियो । दोस्रो कञ्चनजंघा(सेसेलुङ)अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको उपाधिका लागि अब रेड डेभिल्स फुटबल क्लव र गोधुली फुटबल क्लव शनिवार भानुजन माविको खेल मैदानमा आमने सामने हुँदैछन् ।
न्यू स्टारमा अरमान र डानियल जस्ता अनुभवी खेलाडी भएपनि रेड डेभिल्सको दरिलो रक्षापंक्तिका अघि उनीहरु जमेर चल्न सकेनन् । टाइब्रेकरमा रेड डेभिल्सका सुगम खजुम,शेखर राई,मौसम राई र रोशन लिम्बूका प्रहार सफल भएभने दिवस खापुङ गोल गर्न असफल रहे । न्यू स्टारका सुगम सुब्बा,बिजु र डानियलका प्रहार सफल हुँदा पुजन थापा र सनम राईका प्रहारले गोलको दिशा लिन सकेनन् । प्रतियोगिताका बिजेताले तीन लाख दुईहजार ८१ रुपैयाँ तथा उपबिजेताले एकलाख ५१ हजार ८१ रुपैयाँ प्राप्त गर्नेछन् ।
(फायल फोटो)