फुङलिङ नगरपालिकाले चासोक तङनाम मनाउन शुक्रवार दियो बिदा

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २० । चासोक तङनाम पर्व २०८१ को अवसरमा चासोक तङनाम सञ्चालन समितिले आयोजना गरेका बिभिन्न कार्यक्रम मनाउन फुङलिङ नगरपालिकाले मंसिर २१ गते शुक्रवार एक दिन स्थानीय बिदा दिएको छ ।

फुङलिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले चासोक मंसिर २१ गते शुक्रवार एकदिन स्थानीय बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । उक्त दिन नगरपालिकाको कार्यालय,सो अन्र्तगतका वडा कार्यालय,स्वास्थ्य संस्था एवम् शिक्षण संस्था बन्द रहने फुङलिङ नगरपालिकाले जनाएको छ ।

चासोक तङनाम सञ्चालन समितिले मंसिर १५ गते फुङलिङ नगरपालिका वडा नं ४ अम्बिटारस्थित भानुजन माविको खेलमदानमा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप,साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

शनिवार गोल्डकपको फाइनल हुने छ भने शुक्रवार साँस्कृतिक कार्यक्रम सहितका विविध मनोरञ्नात्मक कार्यक्रम हुने चासोक तङनाम सञ्चालन समितिका उपाध्यक्ष दिनेश लिङखिमले जानकारी दिनुभयो ।

सांस्कृतिक कार्यक्रममा लागि शान्तिश्री परियार,झूमा लिम्बू,माल्भिका सुब्बा सहितका कलाकार आउँदैछन् भने रैथाने ब्याण्डको प्रस्तुति समेत रहने छ । चासोक तङ्नाम न्वागी खाने पर्व हो ।

Similar Posts