मैवाखोलामा स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सुरु,आँखाका रोगीहरुको उपचार पनि जारी
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १३ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत ताप्लेजुङको मैवाखोला गाउँपालिकामा स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सुरु भएको छ ।
अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण,आवश्यकता पहिचान र परिचयपत्र बितरणका साथ आँखाको परीक्षण तथा उपचार शिविर वडा नं १ बाट सुरु भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । गाउँपालिकाले नेपाल नेत्रज्योति संघ ताप्लेजुङसंग आँखा परीक्षण तथा उपचारका लागि आर्थिक साझेदारी गरेको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम वडा नं १ मा ३७ जना अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै आँखा शिविरतर्फ वडा नं १ मा १ सय ११ जनाको परीक्षण गरिएको छ भने ४९ जनालाई निःशुल्क रुपमा चश्मा उपलब्ध गराईएको छ । परीक्षणका क्रममा ७ जना मोतियाबिन्दुका बिरामी भेटिएको र उनीहरुलाई मंसिर २० र २१ गते दोभान बजारमा हुने शल्यकृया सहितको निःशुल्क आँखा शिविरमा रेफर गरिएको छ । आँखा परीक्षणका क्रममा शल्यकृया गर्नुपर्ने बिरामीको पहिचान गरेर उनीहरुलाई दोभान बजारमा हुने शिविरमा शल्यकृयाका लागि ल्याउने र लैजाने सुविधा गाउँपालिकाले प्रदान गर्ने भएको छ ।
वडा नं १ बाट सुरु भएको शिविरको दोस्रो दिन मंसिर १३ गते बिहीबार ठोट्ने सिंहराज मनरानी आधारभूत बिद्यालयमा,१४ गते वडा नं ३ को वडा कार्यालय साँघुपाटीमा,१५ गते वडा नं ४ को वडा कार्यालयमा,१६ गते वडा नं ५ का लागि पार्टीडाँडा मावि फाकुम्बामा र १७ गते वडा नं ६ को वडा कार्यालयमा शिविर हुने मैवाखोला गाउँपालिकाले जनाएको छ । मैवाखोला गाउँपालिकाको चालू आर्थिक बर्ष २०८१।८२ को बार्षिक स्वीकृत कार्यक्रम तथा करुणा फाउण्डेसनको सहकार्यमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगतका गतिविधि हुँदै आएका हुन् ।
गाउँपालिकाको आर्थिक साझेदारी र नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोगमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र फुङलिङका फिल्ड आईवर्कर काजीमान थेबेको नेतृत्वमा आँखा परीक्षण तथा उपचार भइरहेको हो । सबै वडामा हुने आँखा परीक्षण तथा उपचार पछि शल्यकृया गर्नुपर्नेगरी छनौट भएका आँखाका रोगीलाई दोभानमा हुने शल्यकृया शिविरमा निःशुल्क उपचारको प्रवन्ध गरिने भएको छ ।