सिकैचा उपनिर्वाचन: मतदान अधिकृत सहितका कर्मचारी मतदान स्थल पुग्दै,मतदान स्थलको चारकिल्ला तोकिने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १३ । मंसिर १६ गते हुने ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ को वडाध्यक्ष उपनिर्वाचनका लागि खटिएका मतदान अधिकृत सहितका कर्मचारी तोकिएका मतदान केन्द्र पुग्ने भएका छन् ।
मुख्य निर्वाचन अधिकृत तथा ताप्लेजुङ जिल्ला अदालतका न्यायाधीस विकास श्रेष्ठले मतदान केन्द्रमा खटिएका मतदान अधिकृत,सहायक मतदान अधिकृत सहितका कर्मचारी निर्वाचन सामग्री सहित बिहीबारै मतदान केन्द्रमा पुग्ने गरी प्रस्थान गरेको जानकारी दिनुभयो । सिकैचामा हुन लागेको उपनिर्वाचनका लागि सरस्वती मावि कुञ्जारी र दुर्गा मावि ओसे गरी दुई मतदान स्थल र दुईमात्रै मतदान केन्द्र रहेका छन् । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बिहीबार मतदान अधिकृत सहितका कर्मचारी मतदान स्थलमा पुगेर मतदान स्थल वरपरको चाारकिल्ला निर्धारणको प्रकृया सुरु हुने बताउनुभयो । मतदान स्थलको चार किल्ला तोकिएको क्षेत्र आसपास मादक पदार्थको सेवन तथा बिक्रीबितरण बन्द हुने छ । यस्तै हातहतियार लिएर हिड्न,होहल्ला गर्न,अवाञ्छित गतिविधि गर्न रोक लगाईने श्रेष्ठले बताउनुभयो ।
‘सम्भवतः शुक्रवार बिहान राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुसंग निर्वाचन कार्यक्रम सभ्य र निश्पक्ष बनाउने बिषयमा सघाउन अनुरोध सहित सर्वपक्षिय छलफल हुने छ’मुख्य निर्वाचन अधिकृत श्रेष्ठले भन्नुभयो । निमित्त जिल्ला निर्वाचन अधिकारी वान्दवराज(विपिन)दुलालका अनुसार मौन अवधि सुरु भएपछि मतदान केन्द्रको तोकिएको चारकिल्ला भन्दा तीनसय मिटर वरपरको भागमा राजनीतिक दल तथा उम्मेदवारका प्रचार सामग्री राख्न बन्देज छ । उपनिर्वाचनका क्रममा बिहीबार मध्यरात देखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा कुनै राजनीतिक दल तथा उम्मेदवारको पक्षमा मत माग्न तथा प्रचार गर्न नपाइने प्रावधान रहेको छ । मौन अवधिको पालना गर्नु सबै राजनीतिक दल तथा उम्मेदवारहरुको कर्तव्य हुने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार तथा दलहरुले निर्वाचनको अवधिमा पालना गर्नुपर्ने आचार संहिताको सुक्ष्म निगारानी समेत भइरहेको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधवार दुई मतदान केन्द्रमा खटिने मुख्य निर्वाचन अधिकृत सहितका १२ जना तथा जगेडामा रहने एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृत सहित १४ जनालाई नियुक्ति गरी निर्वाचन प्रकृया सम्वन्धी अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको छ । निर्वाचन आयोगले पठाएको निर्वाचन सामग्री जिल्ला निर्वाचन कार्यालयले बुधबारै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पु¥याईसकेको जनाएको छ । निर्वाचन आयोगबाट हेमन्तराज ढकालको नेतृत्वमा रहेको टोली निर्वाचन सामग्री लिएर फुङलिङ आएको थियो । सिकैचाको वडाध्यक्ष उपनिर्वाचनका क्रममा ५ राजनीतिक दलका ५ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । सिकैचाको उपनिर्वाचनमा ८ सय ४४ पुरुष र ६ सय ८४ महिला गरी कूल १ हजार ५ सय २८ मतदाता छन् । कूल मतदातामध्ये कुञ्जारी मतदान स्थलमा १ हजार २६ र ओसे मतदान स्थलमा ५ सय २ मतदाता रहेका छन् ।