गैससले साझेदारी,खबरदारी र पहरेदारीको भूमिका निर्वाह गरिरहेका छन् : केन्द्रीय अध्यक्ष सुबेदी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २१ । गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुबेदीले गैर सरकारी संस्थाहरुले साझेदारी,खबरदारी र पहरेदारीको भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ । उहाँले नागरिक संगठनलाई स्थायी प्रतिपक्षको संज्ञा पनि दिनुभयो ।

गैसस महासंघ ताप्लेजुङको सातौं जिल्ला अधिबेशन तथा विपद् जोखिम जलवायु परिवर्तन अनुकुलन सम्वन्धी जिल्ला स्तरीय क्षमता विकास कार्यशालाको फुङलिङमा उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । सरकारले बाटो बिराउँदा नागरिक संगठनले खबरदारी गर्ने,मानव अधिकारको संरक्षण र जनताका साझा आवश्यकता बुझेर काम गरे साझेदारी गर्ने र ठीक ढंगले परिचालित हुन नसके पहरेदारी गर्ने आफुहरुको भूमिका रहेको उहाँले बताउनुभयो । अराजकता बिरुद्ध लड्ने जिम्मेवारी पनि गैसस सहितका नागरिक संगठनको रहेको उहाँको भनाई थियो । सुबेदीले गैर सरकारी संस्थाको पैरवी तथा राजनीतिक नेतृत्वको सुझबुझका कारण नेपालको संबिधान २०७२ मा ३१ किसिमका मौलिक हक समेटिएपनि समाजमा विभेद कायम रहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

मौलिक अधिकार प्राप्त भएपनि समाजमा कायम रहेको विभेद अन्त्यका लागि अब आर्थिक,राजनीतिक र सांस्कृतिक अधिकारको पूर्ण प्रत्याभूत हुनु अनिवार्य रहेकोमा सुबेदीले जोड दिनुभयो । नागरिक संगठनले अब सामाजिक उद्यमशिलताको मुद्दा अघि सारेको भन्दै यसमा सहयोग गर्न सुबेदीले देशको शीर्ष नेतृत्वसंग आग्रह समेत गर्नु भएको छ । उद्यमशिलतामार्फत उर्पाजन भएको आर्थिक स्रोत सामाजिक उत्थानमा लगाउनुपर्ने जिम्मेवारी निर्वाह गरेर देशको आर्थिक रुपान्तरणमा साझेदारीको रुपमा गैसस उभिने उहाँको विश्वास थियो । विकासमा बजेट रहेपनि स्थायित्वका लागि आर्थिक स्रोत परिचालन नभएको भन्दै सुबेदीले यो अवस्थामा गैर सरकारी संस्थाहरुलाई सरकारले जिम्मेवारी दिनुपर्ने समेत बताउनुभयो ।

‘विकास बजेटको ६० प्रतिशत रकम समेत खर्च हुन सकिरहेको छैन,यता हामी साझेदार निकाय खाली बसिरहेका छौं’सरकारसंग साझेदारी प्रस्ताव गर्दै सुबेदीले भन्नुभयो । उहाँले स्थानीय सरकार समेतले उपभोक्ता समितिप्रति बढी विश्वास गरेर गैर सरकारी संस्थाहरुको दायित्व र जिम्मेवारीप्रति सकारात्मक बन्न नसकेको गुनासो समेत गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभाका सदस्य तथा कोशी प्रदेश सरकारका पूर्व मन्त्री तिलकुमार मेन्याङ्वोले देश विकासमा गैर सरकारी संस्थाको भूमिका बलियो रहेको स्मरण गर्नुभयो । जलवायु परिवर्तनको मुद्दाले विश्वव्यापी क्षेत्रमा परेको असर न्यूनीकरणका लागि अनूकुलन योजना निर्माण तथा निर्माण भएका योजनाको प्रभावकारी कार्यान्वयनमा समेत मेन्याङ्वोले जोड दिनुभयो । विपद् जोखिम जलवायु परिवर्तन अनुकुलन सम्वन्धी योजनाका बिषयमा गै सरकारी संस्था महासंघका केन्द्रीय महासचिव अर्जुन भट्टराईले प्रस्तुती राख्नु भएको थियो । गैसस महासंघको सातौं जिल्ला अधिबेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन समेत गर्ने छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts