“चेली माईतीबिचको कर्तव्य र प्रेमको प्रतिकःभाईटीका”
वीरेन्द्र श्रेष्ठ
भाईटीका हरेक नेपालीको हृदयको गहिराईमा बसिसकेको पवित्र प्रेमिल पर्व हो। तिहारको पाँचौँ दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका, माला लगाएर लामो आयु,सुरक्षित जीवन, र सुदृढ सम्बन्धको कामना गर्छन् । यो पर्वले दाजुभाइ र दिदिबहिनीबिचको बन्धनलाई अटल र गाढा बनाउँछ । भाईटीका कुनै साधारण पर्व मात्र नभई, प्रेम, श्रद्धा, र समर्पणको प्रतीक हो, जसले हामीलाई हरेक वर्ष न्यानो अभिव्यक्तिमा बाँधेर राखेको छ । दिदिबहिनीले आफ्नो दाजुभाइलाई पुजा गर्न र मन पर्ने सामान किन्न पैसाको जोहो गरेका हुन्छन भने दाजुभाइले पनि मनै देखि आफ्ना चेलीबेटीलाई खुसी पार्ने प्रयत्न गरेका हुन्छन् ।
यो पर्वको उत्पत्तिलाई जोडिएको कथा यमराज र उनकी बहिनी यमुनाको प्रेमको प्रतीक हो । कथा अनुसार यमुनाले आफ्नो दाजु यमराजलाई घरमा निमन्त्रणा गर्छिन र दाजुले बहिनीको आतिथ्यता स्वीकार्छन, बहिनी यमुनाले उनलाई विभिन्न परिकारहरू खुवाउँछिन र प्रेमपूर्वक टीका लगाइ दिन्छिन् । बहिनीको स्नेह र आत्मीयताले द्रवित भएर यमराजले वचन दिन्छन् कि,जसले यो दिन दिदिबहिनीको हातबाट श्रद्धापुर्वक टीका थाप्छन,त्यो दाजुभाइ सुरक्षित रहनेछन् । यस कथाले आजसम्म हरेक नेपाली दिदिबहिनीको मनमा भाईटीकालाई गहिरो प्रेम र श्रद्धाका साथ मनाउने प्रेरणा दिएको छ ।
भाईटीकाको पूजा विधि निकै विशेष र पवित्र छ । बहिनीले बिहानैदेखि टीकाका लागि तयारी गर्छिन्,जसमा सप्तरङ्गी रङ, मखमली फूल, दुबो, ओखर, तेल, र विभिन्न परिकारहरू सामेल गरिएको हुन्छन् । टीकाको थालमा मखमली फूल, दुबोको माला, ओखर, मिठाइ, अक्षता र तेल सजाएर राखिन्छ । यसलाई परम्परागत हिसाबले पूजा स्थल (मण्डप)मा राखेर दाजुभाइलाई पुजा गरी आशीर्वाद दिने व्यवस्था गरिन्छ ।
यसमा प्रयोग हुने सबै सामग्रीले आफ्नै महत्व राख्छन् । रङ्गहरू पृथ्वीका विभिन्न तत्वहरूको प्रतीक मानिन्छ र, प्रत्येक रङ्गले भाइको जीवनमा शान्ति, साहस, ज्ञान, उन्नती र प्रेमको प्रतिकात्मक आशीर्वाद दिन्छन् । जब बहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाउँछिन्,यो केवल सौन्दर्यका लागि मात्र नभई भाइको जीवनलाई सुखमय बनाउन बिभिन्न आयामहरू दिने आशय यसले बोकेको हुन्छ । सबैको भाग्यमा आफ्नै दाजुभाइ, आफ्नै दिदीबहिनी नहुने र भएकाहरुको पनि आत्मियताको हिसावले र सम्बन्धको हिसावले आफ्ना छिमेकी,भावनाका आधारमा बनाईएका दिदिबहिनी र मित सम्बन्धले बनाईएका दिदिबहिनीहरु सग पनि उतिकै आत्मीय रुपले टीका थाप्ने चलन छ ।
भाईटीकामा प्रयोग गरिने सामग्रीहरूको महत्त्व
१. मखमली फूल
मखमली फूललाई दीर्घायुको प्रतीक मानिन्छ । यो फूलले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई बलियो बनाउने विश्वास राखिन्छ । यसको सौन्दर्य र सुदृढता प्रेम र सम्मानको सम्बन्धलाई अझ गाढा बनाउँछ ।
२. ओखर
ओखरलाई जीवनको मिठास र जटिलताको प्रतीक मानिन्छ । बहिनीले टीकाको थालमा राखेर भाइलाई ओखर दिने चलन छ । ओखर फुटाउँदा भित्रको मिठासले जीवनको सम्पूर्ण जटिलताहरू बीच पनि मिठास कायम रहने सन्देश दिन्छ । यसले भाइलाई चुनौतीहरूको सामना गर्ने साहसको प्रतिबिम्बित आशीर्वाद दिन्छ ।
३. दुबो
दुबोलाई अटलता र अनन्त जीवनको प्रतीक मानिन्छ। दुबोको माला भाइलाई लगाइन्छ, जसले भाइको जीवनमा स्थायित्व, दीर्घायु, र स्वास्थ्यको कामना गर्दछ। दुबो जस्तै जीवनमा सधैं हरियाली रहोस् र कहिल्यै मर्दैन भन्ने आशयले यो माला भाइको गला र निधारमा लगाइन्छ।
४. तेल
भाईटीकामा प्रयोग गरिने तेलले भाइलाई स्वास्थ्य र सुदृढता प्रदान गर्ने विश्वास छ। तेलले जीवनमा न्यानोपन र स्नेह दिन्छ । बहिनीले तेल लगाइदिँदा भाइप्रतिको मायाले उसको जीवनलाई उज्यालो पार्न सघाउँछ भन्ने भाव हुन्छ । तेल लगाउनु भनेको भाइलाई उर्जा दिनु र सकारात्मक शक्तिको आशीर्वाद दिनु हो ।
भाईटीकाको धार्मिक महत्व
धार्मिक दृष्टिले भाईटीका आत्मीयता, प्रेम, र कर्तव्य भावनामा आधारित छ । यस दिन गरिने पूजा केवल बाहिरी परम्परामा मात्र सीमित छैन,यसले दाजुभाइ र दिदिबहिनीको हृदयमा निहित प्रेम र स्नेहलाई जागृत गराउँछ । भाईटीकामा दिदिबहिनीले आफ्ना दाजुभाइलाई सम्पूर्ण तत्वको शान्ति, शक्ति,स्वास्थ्य र समृद्धिको कामना सहित आशीर्वाद दिन्छिन् । सप्तरङ्गी टीका,मखमली, दुबो, ओखर, र तेल यी सबै सामग्रीहरूका माध्यमबाट भाईटीकामा भाइलाई सुस्वास्थ्य, दीर्घायु, र सुरक्षित जीवनको आशिर्वाद दिइन्छ । यस दिन बहिनीहरूले भाइलाई आशिर्वाद दिंदै विविध धार्मिक मन्त्र उच्चारण गर्छन्,जसले भाइलाई सुरक्षा, आत्मबल, र भगवानको कृपा मिल्ने विश्वास गरिन्छ ।
“यमराजले तिमीलाई रक्षा गरुन्, यमुनाले रक्षा गरुन्”
“सन्ध्या, स्वर्ग, पृथ्वी, र दिन–रातले रक्षा गरुन्”
यसरी म तिमीलाई टीका लगाउँछु, दीर्घायु र सम्पन्न रहोस् भनी आशीर्वाद दिइन्छ ।
भाईटीकाले धार्मिकता र सांस्कृतिक परम्परालाई अदृश्य धागोले बाँधेर राखेको छ,जसले दाजुभाइ–दिदीबहिनीको सम्बन्धलाई केवल आत्मीयतामा सीमित नराखेर धार्मिक आस्थासँग जोड्दछ । वर्तमान समाजमा भाईटीकाको योगदान निकै महत्वपूर्ण छ । प्रविधिको युगमा जहाँ परिवारहरू भौगोलिक रूपमा टाढा छन्,भाईटीका हरेक वर्ष दाजुभाइ र बहिनीलाई एकै ठाउँमा ल्याउने एक विशेष अवसर हो । यो पर्वले सामाजिक र सांस्कृतिक सम्बन्धलाई नवीकरण गराउँदै नयाँ पुस्तामा प्रेम र परम्पराको महत्वलाई बुझाउँछ । भाईटीका केवल एक दिनको पूजा मात्र होइन,यो त सम्पूर्ण वर्षभरिको सम्झना हो,जसमा दाजुभाइले आफ्नी बहिनीको मायालाई सम्मान गर्छन्, र बहिनीले आफ्ना भाइको रक्षा र दीर्घायुको कामना गर्दछन् । यस पर्वले समाजमा दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्धलाई उदाहरणीय बनाउँदै छ ।
आधुनिक समयमा, भाईटीकाले विदेशमा रहेका दाजुभाइ–बहिनीलाई पनि जोड्न मद्दत पुर्याएको छ । अहिले अनलाइन माध्यमबाट समेत भाइटीका लगाउने चलनले हाम्रो परम्परालाई अद्यावधिक गरिरहेको छ । यसले प्रविधि र परम्परालाई एकसाथ जोड्न मद्दत पुर्याएको छ,जसले दाजुभाइ र दिदिबहिनीबीचको सम्बन्धलाई अझ सुदृढ बनाइरहेको छ । भाईटीकाले समाजमा प्रेम, श्रद्धा, र दायित्वको सन्देश दिन्छ । यो पर्वले हामीलाई एकअर्काप्रति कर्तव्यशील बनाउँछ र हाम्रो सम्बन्धलाई सुमधुर बनाउँछ । भाईटीकाले सन्देश दिन्छ कि सम्बन्धमा प्रेम र सम्मान कायम रहनुपर्छ,चाहे समय र दूरी कस्तो भए पनि । यो पर्वले परिवारमा न्यानोपनको आभास दिलाउँछ, जहाँ हरेक सदस्यले एकअर्काप्रति जिम्मेवारी र कर्तव्यलाई सम्झिन्छन् ।
(लेखक इञ्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठ पछिल्लो समय आफ्ना लेखहरुहरुमार्फत सामाजिक जागरणका अभियानमा समेत अग्रसर हुन थाल्नु भएको छ )