फैसला कार्यान्वयनमा ताप्लेजुङ प्रहरीको जोड,फरार प्रतिवादी न्यायिक दाहेरामा ल्याउने क्रम तीव्र

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १३ । फैसला कार्यान्वयन अन्र्तगत ताप्लेजुङ प्रहरीले चालू आर्थिक बर्षको करिव साढे तीन महिनाको अवधिमा ११ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार आव २०८०।८१ को एकबर्षे अवधिमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका थिए । ताप्लेजुङ प्रहरीका अनुसार चालू आवमा ४ लाख ५३ हजार ३ सय १७ रुपैयाँ बराबर जरीवाना र १ बर्ष २ महिना २५ दिन कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । अघिल्लो आव २०८०।८१ मा ४ लाख ९० हजार २ सय ९ रुपैयाँ जरीवाना र २६ बर्ष ४ महिना १४ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका थिए । प्रहरीले कसुर पछि २९ बर्ष सम्म फरार रहेका प्रतिवादी समेतलाई पक्राउ गरेको छ ।

अन्तिम फैसलाबाट ठहरे बमोजिमको भाग प्राप्त गर्नलाई सम्वन्धित व्यक्तिले राष्ट्रिय कानुनले निर्धारण गरेको प्रकृया अवलम्वन गरी गरिने कारवाहीलाई फैसला कार्यान्वयन भनिन्छ । यसको कार्यान्वयन बिना न्यायको लक्ष्य पूरा नहुने तथा कार्यान्वयन बिनाको फैसला घोषणामा मात्र सिमित हुने भएकोले फैसला कार्यान्वयनलाई न्यायिक हिसावले महत्वपूर्ण ठानिन्छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले फैसला कार्यान्वयनतर्फ ताप्लेजुङ प्रहरीले तयार गरेको कार्ययोजना सफलउन्मुख देखिएको बताउनुभयो । फैसलाले न्यायको घोषणा गर्ने र कार्यान्वयनले मात्र पूर्णता प्राप्त गर्ने भएकोले ताप्लेजुङ प्रहरीले फैसला कार्यान्वयनलाई महत्वपूर्ण सूचीमा राखी कार्ययोजना बनाएको र कार्ययोजना सफल हुँदै गएको जिल्ला प्रहरी प्रमुख रावलले बताउनुभयो ।

नेपाल वार एशोसिएसन ताप्लेजुङ अदालत वार इकाईका अध्यक्ष बलराम भट्टराई फैसला कार्यान्वयन हुन नसके दण्डहिनताले प्रश्रय पाउने भएकोले फैसला कार्यान्वयनतर्फ प्रहरीको ध्यान जानु सकारात्मक भएको बताउँनुहुन्छ । खासगरी फौजदारी बिषयबस्तुहरुमा अदालतबाट तोकिएको दण्ड र जरीवाना समयमै असुल उपर हुन नसके यसले समाजमा न्यायिक चिन्ता दर्शाउने भएकोले फैसला कार्यान्वयन अनिवार्य सर्तको रुपमा रहने भट्टराईले बताउनुभयो । ताप्लेजुङ प्रहरीले फैसला कार्यान्वयनका लागि बनाएको कार्ययोजना प्रभावकारी रुपमा कार्यान्वयन हुँदै जाँदा निकै पुराना फरार प्रतिवादी समेत न्यायिक दाहेरमा ल्याउन सकिएको ताप्लेजुङ प्रहरी प्रमुख रावलको भनाई छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts