मुटु जोगाउने उपायको सन्देश छर्दै ताप्लेजुङमा मनाईयो विश्व मुटु दिवस

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १३ । मुटु जोगाउने उपायको सन्देश छर्दै आइतवार ताप्लेजुङमा विश्व मुटु दिवस मनाइएको छ ।

फुङलिङ नगरपालिका,केएचडिसी र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अगुवाईमा मुटु दिवस मनाइएको हो । केएचडिसीका प्रतिनिधि डाक्टर अपिल तिवारी र डाक्टर अनु श्रेष्ठले मुटुको महत्व र जोगाउने उपाय बारे जानकारी प्रस्तुत गर्नु भएको थियो । फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले मुटु मानव शरीरको सबैभन्दा महत्वपूर्ण अंग भएकोले यसको जोगावटका लागि प्रत्येक व्यक्तिले आफ्नो रहनसहन,खानपिन र जीवनशैलीका बारेमा सम्बेदनशिल हुनुपर्ने बताउनुभयो । निमित्त प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई मुटुको महत्व दर्शाउँदै मुटुमै समस्या आए मानव जीवनको अस्थित्व माथि संकट आउने बताउनुभयो ।

व्यस्त जीवनशैली,प्याकेटका खानेकुराहरूको अत्यधिक प्रयोग,अशुद्ध खानेकुराहरु, प्रशोधित र केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली,अस्वस्थ प्रतिस्पर्धा र प्रकृतीसंगको दुरी मुटुलाई जोखिममा पार्ने प्रमुख कारणको रुपमा रहने डाक्टर तिवारीले औंल्याउनुभयो । डाक्टर श्रेष्ठले अनुसार दैनिक व्यायाम, खेलकुदलाई प्राथमिकता,धुमपान र मदिरापान,औषधीको धेरै सेवन र अत्यधिक तनाव लिने कारणले मुटुमाथि अन्याय हुने र मानव शरीरमा मुटु रोगको प्रलय सृजना हुने बताउनुभयो ।

हृदय अर्थात् मुटु,माया,दया,भावना र रोमाञ्चकतालाई मुटुसंग जोडेर हेरिन्छ । मुटु स्वास्थ्य गतिशिलताको पर्याय हो । विश्व मुटु संगठनले मुटुको यहि संवेदनशीलता ध्यानमा राख्दै हरेक वर्ष सेप्टेम्बर २९ लाई मुटु दिवसका रुपमा मनाउन थालेको हो । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य संगठन र सरकार प्रमुखहरु मिलेर सन् २०२५ सम्ममा विश्वभरि नै नसर्ने रोगहरुलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् ।

हरेक वर्ष करिब २ करोड मान्छेहरु हृदयघात र हृदय सम्बन्धि रोग तथा समस्याले ग्रसित हुने गरेको तथ्याङ्क छ । नकारात्मक जीवनशैलीको सानो भूलले मुटु रोग निम्त्याइरहेको भन्दै यसबिरुद्ध जनचेतना अभिवृद्धिका लागि मुटु जोगाउने उपायको आत्मसाथ गर्नु अनिवार्य रहेको फुङलिङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मौसम खसासले बताउनुभयो ।
म मुटु जोगाउन प्रतिबद्ध छु’नारामा सहमति जनाउँदै ताप्लेजुङका सरोकारवाला । तस्बिर ः उज्यालो पोष्ट

अरुलाई पनि शेयर गरौ !

Similar Posts