ताप्लेजुङ अदालतमा दुई महिनामा दर्ता भएका मध्ये ४४ प्रतिशत मुद्दा सम्वन्ध बिच्छेदका

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ८ । चालू आर्थिक बर्ष २०८१।८२ को असोज पहिलो साता सम्मको अवस्था नियाल्दा ताप्लेजुङमा यसबर्ष सम्वन्ध बिच्छेदका मुद्दा साविक भन्दा झन् उकालो ग्राफमा लाग्ने देखिएको छ ।

ताप्लेजुङ जिल्ला अदालतमा दर्ता भएकामध्ये ४४ प्रतिशत मुद्दा सम्वन्ध बिच्छेदका रहेका छन् । जिल्ला अदालतका श्रेष्तेदार(उपसचिव)मनोज बरालका अनुसार चालू आवको असोज पहिलो साता सम्ममा ९६ थान मुद्दा दर्ता भएका छन् । त्यसमध्ये ४२ थान मुद्दा सम्वन्ध बिच्छेदका रहेका छन् । देवानीतर्फका १ सय ४२ थान मुद्दामध्ये ८१ थान मुद्दा सम्वन्ध बिच्छेदका रहेको अदालतले जनाएको छ । देवानीतर्फका मुद्या नयाँ आर्थिक बर्षमा दर्ता भएका र जिम्मेवारी सरी आएका समेत गरी १ सय ४२ थान हुन् । आव २०८०।८१ बाट चालू आवका लागि १ सय २७ थान मुद्दा जिम्मेवारी सरी आएका थिए । चालू आवको दुई महिना र एकसाताको अवधिमै सम्वन्ध बिच्छेदका मुद्दा दर्ताको यो प्रकृयाले निरन्तरता पाए सम्बन्ध विच्छेदका घटनाले ताप्लेजुङमा एकपछि अर्कोनयाँ रेकर्ड कायम गर्ने अवस्था देखिएको छ ।

ताप्लेजुङ जिल्ला अदालतमा आव २०८०।८१ र आव २०७९।८० समान ४७ प्रतिशत,आव २०७८।७९ मा ४१ प्रतिशत र आव २०७७।७८ मा ३४ प्रतिशत मुद्दा सम्बन्ध बिच्छेदका थिए । चालू आवको दुई महिनाकै अवधिमा अहिले सम्वन्ध बिच्छेदका मुद्दा ४४ प्रतिशत रहेका छन् । यसले एक आर्थिक बर्षभरीमा सम्वबन्भ बिच्छेदका मुद्दाको ग्राफ थप उकालो लाग्ने संकेत गर्छ । अदालतमा चालू आवको साउन र भदौमा ७९ थान तथा असोज पहिलो साता सम्ममा १७ थान मुद्दा नयाँ लगतको रुपमा दर्ता भए । यसो गर्दा अदालतमा अहिले २ सय २३ थान मुद्दा रहेका छन् । ति मध्ये ३२ थान मुद्दाको फस्र्यौट भएको अदालतले जनाएको छ ।

सम्वन्ध बिच्छेदलाई पारिवारिक विग्रहका रूपमा लिइन्छ । सम्बन्ध विच्छेद श्रीमान–श्रीमतीबीचको वैवाहिक नाता सम्बन्धबाट दायित्वरहित तवरले अलग हुने कानुनी आधार हो । यसलाई प्राचीन समयमा पारपाचुके वा छोडपत्र भनिन्थ्यो। अहिले परिस्कृत रूपमा सम्बन्ध विच्छेद भन्ने गरिन्छ । अंग्रेजीमा ‘डिभोर्स’ भनिने यही शब्द अहिले नेपालीमा पनि बढी प्रचलित छ । मुलुकी देवानी संहिता २०७४ को दफा ९४ मा पतिले र दफा ९५ मा पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने कानुनी प्रावधान उल्लेख गरिएको छ ।

कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पति–पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खान–लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,पत्नीले पतिको अंग–भंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमका कुनै काम वा जाल–प्रपञ्च गरेमा र पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा सम्बन्ध विच्छेद गर्न सक्ने कानुनी प्रावधान रहेको छ ।

यस्तै कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पति–पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा र पतिले पत्नीको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल–प्रपञ्च गरेमा सम्बन्ध विच्छेद गर्न पाउँछिन् । यस्तै पतिले अर्को विवाह गरेमा, पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा पनि सम्बन्ध विच्छेद प्रक्रिया बढ्ने कानुनी आधार सिर्जना हुन्छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts