फुनपा र प्रशासन कार्यालय सहित माथिल्लो फेदीका होटल पसल सञ्चालकलाई जवाफ पेशका लागि म्याद तामेली गरिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १८ । सार्वजनिक ऐलानी जग्गा अतिक्रमण गरी घर,टहरा तथा बस्ति बसाएर प्राकृतिक तथा वातावरणीय दोहन गरेको भनी ताप्लेजुङको पाथीभरा क्षेत्रका होटल पसल सञ्चालक तथा फुङलिङ नगरपालिका सहितका सार्वजनिक निकाय बिरुद्ध जवाफ पेश गर्न म्याद तामेली गरिने भएको छ ।

लक्ष्मी बुढाले दायर गरेको रिटमा बिपक्षी बनाईएका माथिल्लो फेदीका २१ जना होटल सञ्चालक सहित २२ तथा फुङलिङ नगरपालिका र जिल्ला प्रशासन कार्यालय सहित ४ वटा सरकारी निकायलाई म्याद तामेली भएका मितिले १५ दिन भित्र जवाफ पेश गर्न सर्बोच्च अदालतले भनेको हो । वीरेन्द्रनगर नगरपालिका वडा नं ९ सुर्खेत घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नं १० बस्ने ३२ बर्षिय रिट निबेदक बुढाको तर्फबाट अधिवक्ताद्धय सुरेश गुरागाँई र सोमराज तिमल्सिनाले बहस गर्नु भएको थियो ।

परमादेश समेत माग गरिएको उक्त रिटमा सर्बोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ । जवाफ पेश गर्न आदेश भएको उक्त रिट निबेदनको अन्तिम टुङ्गो लागेका वखत प्रत्यर्थीहरुले निर्माण गरेका संरचना,सरकारी वन जंगल राष्ट्रिय वन क्षेत्रको ऐलानी तथा सार्वजनिक जग्गा परेको भएमा त्यस्ता संरचना भत्काई त्यस क्षेत्रबाट जुनसुकै बखत हटक अर्थात् हटाउन सक्ने देखिएको सर्बोच्चले बताएको छ । यस्ता सार्वजनिक वन जंगल क्षेत्र वा सार्वजनिक जग्गामा संरचना निर्माण गर्दा प्रचलित कानुन बमोजिम स्वीकृत प्रदान गर्न नमिल्ने र कानुन विपरित स्वीकृत दिने दिलाउनेलाई कसुर कायम गरी सजाय समेत हुन सक्ने अवस्था बिद्यमान रहेको सर्बोच्चले रिट निबेदनको प्रारम्भिक सुनुवाईमा भनेको छ ।

सर्बोच्च अदालतका न्यायाधीस डाक्टर कुमार चुडाँलको इजलासले बिपक्षीका नाममा आदेश जारी गर्दै म्याद तामेलीका लागि ताप्लेजुङ जिल्ला अदालतलाई जिम्मेवारी दिएको छ । सोहि बमोजिम अदालतले बिपक्षीहरुलाई म्याद तामेली गर्ने तयारी गरिरहेको ताप्लेजुङ जिल्ला अदालत स्रोतले जानकारी दिएको छ । निबेदकले बिपक्षी बनाएकाहरुले म्याद तामेल भएको मितिले १५ दिन भित्र लिखित जवाफ पेश गर्नुपर्ने हुन्छ ।

रिटमा सार्वजनिक निकायतर्फ फुङलिङ नगरपालिका,जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ,पाथीभरा क्षेत्र विकास समिति र नेपाल सरकार वन तथा वातावरण मन्त्रालय,डिभिजन वन कार्यालय ताप्लेजुङलाई विपक्षी बनाईएको छ । रिटमा उल्लेखित ४ निकायले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा नगरेको तथा निजहरुको कार्यबाट सार्वजनिक सम्पत्तिको हिनामिना एवम् क्षति भएको देखिन आएकोले विपक्षी बनाईएको दावी गरिएको छ ।

माथिल्लो फेदीका होटल तथा पसल सञ्चालकहरु दार्जिलिङ होटल एण्ड लजका महेश गुरुङ,पाथीभरा होटल एण्ड लजका फिपराज लिम्बू,झापाली होटल एण्ड लजमा सीता भट्टराई,न्यू ठूलोफेदी मिलन होटल एण्ड लजका सुनिल लिम्बू,अभिषेक कार्की होटल एण्ड लजका अशोक कार्की,करुणा करुण होटल एण्ड लजका रतन कार्की,भट्टराई होटल एण्ड लजका माया भट्टराई,रमिते भज्याङ खाजा घरका दिलकुमार बिष्ट र लक्की होटल एण्ड लजका समिर लिम्बूलाई बिपक्षी बनाईएको छ ।

यस्तै चन्द्रमा होटल एण्ड लजका चन्द्रबहादुर कार्की,मुना होटल एण्ड लजका मुना मादेन,पाथीभरा कालिका होटल एण्ड लजका सुरज भट्टराई,कञ्चनजंघा होटल एण्ड लजका अम्बिका प्रसाँई,लालीगुराँस होटल एण्ड लजका राजेन्द्र महत,सेवारो होटल एण्ड लजका मिलन लिम्बू,पञ्चकन्या होटल एण्ड लजका इन्द्रनारायण भट्टराई,अनमोल होटल एण्ड लजका हस्तबहादुर राईलाई समेत बिपक्षी बनाईएको छ । यस्तै सिक्कीम होटल एण्ड लजका छेतेन शेर्पा,हिमाली होटल एण्ड लजका तुलाराम भट्टराई,ठूलोफेदी होटल एण्ड लजका मिङ्मा शेर्पा र एलवी गुरुङ र माता भट्टराई होटल एण्ड लजका नरबहादुर भट्टराईलाई समेत रिटमा बिपक्षी बनाईएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts