सुपर लिग खेलेको बुटवल लुम्बिनी एफसीलाई स्तब्ध पार्दै मोरङको सगरमाथा ताप्लेजुङ गोल्डकपको सेमीफाईनलमा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ५ । दोस्रो आमन्त्रण ताप्लेजुङ गोल्डकपको क्वाटर फाइनल खेल जित्दै मोरङ बिराटचौकको सगरमाथा युथ क्लव सेमीफाईनल पुग्ने तेस्रो टोली भएको छ ।
यसअघि सिराहाको सलहेश फुटबल क्लव र गृहटीम संघर्ष स्र्पोटिङ क्लव सेमीफाईनल पुगिसकेका छन् । नेपाल सुपर लिग(एनएसएल)को फ्रेन्चाइजी समेत रहेको बुटवल लुम्बिनी एफसीलाई १–० को अनपेक्षित हार चखाउँदै मोरङको सगरमाथा युथ क्लवले भदौ ७ गते हुने पहिलो सेमीफाईनल खेलमा गृहटिम संघर्ष स्र्पोटिङ क्लव फुङलिङसंगको भेट पक्का गरेको छ । जर्सी नं ११ का खेलाडी सुशिल राईले खेलको १९ औं मिनेटमा गरेको गोलनै मोरङको जीतमा निर्णायक बन्यो । पूर्व संकटा क्लवका गोलरक्षक बिनय श्रेष्ठले सुशिलको प्रहारलाई‘अपेक्षित’ठान्न नसक्दा यही गोलनै बुटवल एफसीका लागि हार बन्यो । बुधवारको खेलमा टीमका लागि मेहनेत र खेल कौशल दुबै प्रस्तुत गर्नु भएका बिजेता सगरमाथा युथ क्लवका कप्तान अशोक खवास म्यान अफ म्याच बन्नुभयो । उहाँले ५ हजार रुपैयाँ नगद पनि पाउनुभयो । बुटवल लुम्बिनी एफसी रिचार्ड,बाओटिङ,हेनरी र एपिया गरी ४ विदेशी खेलाडीका साथ मैदानमा थियो । रिचार्ड र एपियालाई मोरङका खेलाडीले‘टाइट’मा राखेपनि बुटवलका अरु खेलाडी खुलेर खेल्न सकेनन् । गोल फर्काउन जति संघर्ष र मेहनेत गर्नुपथ्र्यो,बुटवलले त्यो लय गुमाउँदा ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करणको मैदाननै गुमाएको छ ।
खेलको अन्त्यतिर दुबैटोलीले आक्रामक खेल खेलेपनि कसैले गोल गर्न सकेनन् र एकगोलमार्फत नै खेलको निर्णय भयो । बिहीबार दोस्रो ताप्लेजुङ गोल्डकपको अन्तिम क्वाटर फाईनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीले बिर्तामोड युनाइटेड फुटबल क्लव झापासंग प्रतिश्र्धा गर्ने छ । आर्मी भरत खवास र नवयुग श्रेष्ठ सहितका खेलाडी लिएर मैदान उत्रदैं छ । खवास नेपाली राष्ट्रिय फुटबल टोलीका एक महत्वपूर्ण सदस्य हुनुहुन्छ । नवयुग वंगबन्धु गोल्डकप र दक्षिण एशियाली खेलकुद(सार्क)फुटबल प्रतियोगिता खेलिसक्नु भएका नेपाली खेलाडी हुनुहुन्छ । बिर्तामोड युनाइटेड पूर्वी नेपालमा एक सशक्त फुटबल क्लवको रुपमा उदाइरहेको छ । ताप्लेजुङ गोल्डकपमा प्रतिश्पर्धा गर्ने आर्मी पहिलो विभागीय टिम हो ।