राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलमा सहभागी हुन चाहनेलाई आबेदन दिन जिल्ला खेलकुद विकास समितिको अनुरोध

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २९ । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले खेलाडीको उपलब्धता र खेल क्षेत्रको सम्भावनालाई हेरेर राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ मध्ये २१ खेललाई प्रारम्भिक छनौट गर्दै सम्पर्कमा आउन आग्रह गरेको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावोले ताप्लेजुङमा उपलब्ध खेलाडी र खेल क्षेत्रको सम्भावनाका आधारमा राष्ट्रिय खेलकुदमा खेलाडी सहभागिता गराउन सकिने बताउनुभयो । उहाँले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन सकिने खेलबिधामा आधारमा जिल्ला खेलकुद विकास समितिमा सम्पर्क राख्न आग्रह गर्नु भएको छ । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले बिधागत रुपमा सम्पर्कमा आएका खेलाडीले दिएको आबेदनका आधारमा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको छनौट गरिने जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समितिले एथलेटिक्स,व्याडमिन्टन,पुरुष क्रिकेट,पुरुष तथा महिला फुटबल,बक्सिङ,पुरुष तथा महिला भलिबल, बुद्धिचाल,टेवलटेनिस खेल बिधामा ताप्लेजुङबाट खेलाडी सहभागिता गराउन सकिने प्रारम्भिक सूची तयार गरेको छ । यस्तै उसु,आर्चरी,सुटिङ साइक्लिङ,प्याराग्लाईडिङ,महिला तथा पुरुष दुबैतर्फको कबड्डी,तेक्वान्दो,शारीरिक सुगठन,कराँते र आई.टि.एफ तेक्वान्दोमा समेत यहाँबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी पठाउन सकिने जिल्ला खेलकुद विकास समितिको बुझाई रहेको छ । आउँदो मंसिर २ देखि ९ गते सम्म कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने तयारी छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts