आव २०८०।८१ मा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट उठ्यो झण्डै ४ करोड भेटि
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ८ । आर्थिक बर्ष २०८०।८१ मा ताप्लेजुुङस्थित पाथीभरा मन्दिरबाट झण्डै ४ करोड रुपैयाँ भेटि संकलन भएको छ ।
चालू आर्थिक बर्षमा सञ्चालन गरिने कार्यक्रमको सुझाव संकलन तथा अघिल्लो आवमा भएका गतिविधिहरुको बारेमा जानकारी दिन मंगलवार पाथीभरा क्षेत्र विकास समितिले आयोजना गरेको कार्यक्रममार्फत उक्त जानकारी गराईएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०।८१ को एक आर्थिक बर्षमा ३ करोड ९८ लाख ४१ हजार ९ सय ५८ रुपैयाँ भेटि संकलन भएको छ । आव २०८०।८१ को एक आर्थिक बर्षमा पाथीभरा मन्दिरमा २ लाख ३१ हजार ३ सय ३४ दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । भेटिपाति,दान,चन्दा,सिक्का सटही,भारु सटही,बैंक ब्याज,मर्मत कोषको आय,धरौटी सहितका रकमलाई क्षेत्र विकास समितिले आन्तरिक आय शीर्षकमा आम्दानी बाँध्ने गरेको छ ।
कार्यकारी निर्देशक हाङवाङका अनुसार गत आवको अल्या ७ करोड ९३ लाख ८७ हजार ३ सय १५ रुपैयाँ रहेको थियो । आव २०८०।८१ मा चालू र पुँजीगत गरी कूल ४ करोड ६७ लाख १९ हजार ८ सय ८७ रुपैयाँ ६४ पैसा खर्च गरी आन्तरिकतर्फ क्षेत्र विकास समितिका बैंक खातामा ८ करोड १३ लाख ७९ हजार ३ सय ६३ रुपैयाँ ७३ पैसा मौज्दात रहेको समेत हाङवाङले जानकारी दिनुभयो । गतको अल्या र भेटिपाति सहितको आन्तरिक आय सहित क्षेत्र विकास समितिको आव २०८०।८१ को आन्तरिकतर्फको आव कूल १२ करोड ८० लाख ९९ हजार २ सय ५१ रुपैयाँ ३७ पैसा रहेको थियो ।
उता गतको अल्या सहित अनुदानतर्फ(संघीय सरकारले दिने)१ करोड ३९ लाख ३ हजार ११ रुपैयाँ ३९ पैसा रहेकोमा बिभिन्न २० वटा शीर्षकमा खर्च भई क्षेत्र विकास समितिको खातामा ५२ लाख ३१ हजार ७ सय ४० रुपैयाँ ९२ पैसा मौज्दात रहेको समितिले जनाएको छ । कार्यकारी निर्देशक हाङवाङका अनुसार अनुदानतर्फ गतको अल्या ५२ लाख ५७ हजार ९८९ रुपैयाँ ९९ पैसा,संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट प्राप्त ८५ लाख रुपैयाँ,ब्याजबाट प्राप्त १ लाख ४४ हजार ५ सय १६ रुपैयाँ ४० पैसा र अन्य आय ५ सय ५ रुपैयाँ रहेकोमा चालू र पुँजीगत गरी कूल ८६ लाख ७१ हजार २ सय ७० रुपैयाँ ४७ पैसा खर्च भएको छ ।
क्षेत्र विकास समितिले २०८० साल मंसिर १५ गते भएको सर्वपक्षिय अनुगमनका क्रममा अनुगमन टोलीबाट प्राप्त भएका २१ बुँदे मुख्य सुझावलाई गत आवको कार्यक्रम कार्यान्वयनको मुख्य आधार बनाईएको र अधिकाँस पूरा भई बाँकी कामलाई चालू आवको कार्यभारको रुपमा ग्रहण गर्ने बताएको छ । पाथीभरा क्षेत्र विकास समितिका जेष्ठ सदस्य शम्भुप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा समिति सदस्यहरु तेजबहादुर भट्टराई,चेतराज घिमिरे,पृथ्वीमान पालुङ्वा सहितको उपस्थिति रहेको थियो । ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा जे वर माग्यो त्यही पूरा हुने जनविश्वास रहेको छ । पाथीभरा मन्दिरलाई धेरैले विश्वास र आस्थाको प्रतिक मान्छन् ।