ताप्लेजुङमा ७२ दशमलव ४ प्रतिशत रोपाइँ सम्पन्न

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ६ । हिमाली जिल्ला ताप्लेजुङमा हालसम्म बहत्तर प्रतिशत बढी धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनससार हालसम्म अर्थात शुक्रबार सम्ममा कुल ७२.४ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।
ताप्लेजुङमा जेठ महिनादेखि नै रोपाइँ सुरु हुने गरेको भए पनि हालसम्म ७२.४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यसवर्ष पर्याप्त पानी परेको भए पनि किसानले ढिलोगरी रोपाइँ सुरु गरेका बताइएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापा मगरका अनुसार असार १५ सम्ममा २९ प्रतिशत मात्र रोपाइँ भएको थियो । बाँकी त्यसपछि धान रोपाइँ भएको प्रमुख थापामगरले बताउनुभयो ।
उहाँका अनुसार हिजोआज तल्लो बेँसी तथा औल क्षेत्रमा रोपाइँ हुँदै आएको छ । मकै रोप्ने (छर्ने) समयमा लामो खडेरी परेपछि मकै छर्न ढिलो भएको र मकै पाक्नलाई पनि ढिलाइ भएका कारण धान रोपाइँ ढिलो भएको किसानले बताएका छन् । औल क्षेत्रमा मकै खेती निकालेपछि मात्र रोपाइँ गर्ने गरिएकाले अहिले धमाधम रोपाइँ भइरहेको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका किसान रणबहादुर बिष्टले बताउनुभयो ।
औल भेगका लागि रोपाइँ गर्नलाई साउन दोस्रो सातासम्म समय ढिलो नहुने पनि स्थानीय किसान बताउँछन् । साउन महिनाभर रोपेको धान बालीका लागि सिँचाइको अभाव नभएमा उत्पादनमा कुनै कमी नआउने पनि किसानको भनाइ छ ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका अधिकांस किसानले बेलगुटी, भँगेरे, अट्टेजस्ता पुरानो रैथाने जातको धान बाली लगाउने गरेका छन् । सीमित किसानले मात्र सुख्खा–१, खुमल–४ जस्ता उन्नत जातको धानखेती गर्दै आएको पनि केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार ताप्लेजुङमा पाँच हजार ६६६ हेक्टर क्षेत्रफल बराबरमा धान रोपाइँ हुने गरेको छ ।