फक्ताङलुङले असार ८ र आठराई त्रिबेणीले असार १० गते नीति,कार्यक्रम र बजेट ल्याउने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २९ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले असार ८ गते आगामी आर्थिक बर्ष २०८१।८२ का लागि नीति,कार्यक्रम तथा बजेट ल्याउने भएको छ ।

गाउँपालिकाका सूचना अधिकारी जयप्रसाद रिजालले गाउँसभाको १६ औं अधिबेशनमार्फत असार ८ गते आगामी आवका लागि नीति,कार्यक्रमम तथा बजेट प्रस्तुत गर्ने जानकारी दिनुभयो । सूचना अधिकारी रिजालका अनुसार पालिकाका ७ वटै वडाहरुले असार ७ गते अगावै स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले दिएको बजेट सिलिङका आधारमा वडागत रुपबाट छनौट भएका योजना तथा कार्यक्रम कार्यपालिकामा पेश गरिसक्नुपर्ने हुन्छ । गत बैशाख ३१ गते बसेको पालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले बैठकले पालिकाका सबै वडाहरुका लागि बजेट सिलिङ दिएको थियो । यहाँको सिरिजङ्गा गाउँपालिकाले गत जेठ १० गते नै आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ ।

यता आठराई त्रिबेणी गाउँपालिकाले भने असार १० गते नीति,कार्यक्रम र बजेट ल्याउने भएको छ । गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले असार १० गते नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने जानकारी दिनुभयो । सिरिजङ्गाले असार पहिलो साता अगावै आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यतालिका बनाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ मा स्थानीय सरकारले आगामी आवका लागि प्रस्तुत हुने बजेट कार्यपालिकाबाट अनुमोदन गराई असार १० गते भित्र सभामा पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

सोहि ऐनको दफा ७३ मा असार १० गते भित्र प्रस्तुत भएको उक्त बजेट सभामा पर्याप्त छलफल पछि असार मसान्त सम्ममा सभाबाट पारित गराई पारित भएको ७ दिन भित्रमा सम्वन्धित पालिकाका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई खर्च गर्ने अख्तियारी प्रदान गर्नुपर्ने व्यवस्था रहेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts