ताप्लेजुङमा ‘हेल्पिङ हेण्ड’अभियान,बगरबारी आविमा अक्षयकोष स्थापना,बिद्यार्थीले पाए शैक्षिक सामग्री

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २५ । भावी पुस्तालाई समेत सामाजिक र परोपकारी कामको अनुशरण गराउन ताप्लेजुङका बिभिन्न क्षेत्रका सक्रिय व्यत्तित्वहरुले मिलेर‘हेल्पिङ हेण्ड’अभियान सुरु गरेका छन् ।

हेल्पिङ हेण्ड ताप्लेजुङ सामाजिक कामहरुमा स्फुर्त रुपले सहयोग दिन इच्छित व्यक्तिहरुको संस्थागत अभियान भएको यसका संयोजक काजीमान गुरुङले जानकारी दिनुभयो । यो अभियानमार्फत शुक्रवार फुङलिङ नगरपालिका वडा नं ६ स्थित बगरबारी आधारभूत बिद्यालयका करिव ८० जना बिद्यार्थीलाई शैक्षिक सामग्री तथा बिद्यालयमा अक्षयकोष स्थापनाका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । हेल्पिङ हेण्ड अभियानमार्फत बगरबारी आविमा २० हजार रुपैयाँको अक्षयकोष बनाईएको छ भने त्यहाँ अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको अभियानका एक अभियान्ता निरोज श्रेष्ठले जानकारी दिनुभयो ।

अभियानका संयोजक गुरुङले सो बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम गुरुङलाई अक्षयकोष वापतको रकम हस्तान्तरण गर्नु भएको छ । बिद्यालयका प्रधानाध्यापक मिङ्मानोर्वु शेर्पाले प्राप्त भएको रकम बिद्यालयको अक्षयकोष खातामा राखी जेहेन्दार तथा लगनशिल बिद्यार्थीलाई बार्षिक रुमा छात्रवृत्ति बितरण गर्ने बिद्यालयको योजना रहेको सुनाउनुभयो । कार्यक्रममा बोल्दै फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज)ले स्वतस्फुर्त रुपमा सहयोगी हातहरु अघि बढाएकोमा हेल्पिङ हेण्ड अभियानप्रति आभार व्यक्त गर्नु भएको छ । यो अभियानमा २३ जना सहभागी भएको हेल्पिङ हेण्ड ताप्लेजुङले जनाएको छ ।

सामाजिक र परोपकारी काममा एकजुट बनाउँदै सामाजिक अभियानलाई पुस्तान्तरण गर्न सुरु भएको अभियान निस्वार्थ रुपले अघि बढाउने अभियानका अर्का सदस्य लक्ष्मी विक बताउनुहुन्छ । यो अभियानमार्फत यसअघि पनि फुङलिङ नगरक्षेत्रका बिभिन्न बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामग्री तथा झोला समेत बितरण गरिएको छ । कार्यक्रममा पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम,पूर्व अध्यक्ष खगेन्द्र अधिकारी सहितको उपस्थिति रहेको थियो ।

Similar Posts