टिपताला नाका खुल्ने भएपछि तिब्बततर्फ जान १ सय १० जनाले लिए यात्रा अनुमति

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २३ । बैशाख २५ गतेबाट खुल्ला हुने उत्तरी क्षेत्रको टिपताला नाका हुँदै तिब्बत प्रवेशका लागि १ सय १० जना नेपालीहरुले अनुमति लिएका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्ला प्रशासन कार्यालयबाट दुई गाउँपालिकाका तीनवटा वडाका १ सय १० जनाले अनुमति लिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सम्म फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ७ ओलाङचुङगोला,वडा नं ६ लेलेप र मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङका नागरिकले अनुमति लिएका छन् । टिपताला नाका कोरोना संक्रमण पछि बन्द छ । कोरोना संक्रमण पछि बन्द रहेको नाका चीनको स्वशासित क्षेत्र तिब्बतले खुलाएको थिएन ।

प्रजिअ आचार्यका अनुसार नेपाली पक्षबाट यो नाका बन्द नभएकोले तिब्बती नागरिकले त्यहाँको सरकारबाट अनुमति लिएर नेपाली क्षेत्र प्रवेश गर्न सक्ने वातावरण भने खुल्लै थियो । तिब्बत सरकारबाट नाका बन्द कायम रहेकोले आवात–जावत भने हुन सकेको थिएन । प्रजिअ आचार्यको नेतृत्वमा ५ हजार १ सय मिटर उचाईको नेपाल–चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानाका टिपताला पुगेको नेपाली अधिकारीको टोलीले नाका सञ्चालन र यातायात सहजताका बिषयमा त्यहाँका अधिकारीसंग छलफल पनि गरेको छ ।

‘७ मे अर्थात् बैशाख २५ बाट टिपताला नाका सञ्चालन हुने प्रतिबद्धता उहाँहरुका तर्फबाट व्यक्त भएको छ’तिब्बतको डिङजी काउन्टी सरकारका अधिकारीप्रति संकेत गर्दै प्रजिअ आचार्यले भन्नुभयो । उहाँले सोहि अनुसार तिब्बत प्रवेश गर्न चाहने नागरिकहरुका लागि यात्रा अनुमति प्रदान भएको समेत जानकारी दिनुभयो ।

फक्ताङलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छेतेन लामा शेर्पाले नाका खुल्ला भएको पहिलो दिननै ३० जना नेपालीहरु तिब्बततर्फ जाने तयारीमा रहेको सुनाउनुभयो । अनुमति लिएकाहरुले अनुमति अवधि सम्ममा आवत–जावत गर्न पाउने भएकोले अनुकूल समय मिलाएर यात्रा तय गर्ने शेर्पाले जानकारी दिनुभयो । तिब्बती अधिकारीका विश्वासपात्र र दोभाषे समेत रहनु भएका वडाध्यक्ष शेर्पा बन्द नाका खुल्ला हुने पहिलो दिन आफैं टिपताला सम्म जाँदै हुनुहुन्छ । लामो समय देखि बन्द रहेको नाका खुलेर आवत–जावत सुरु हुने खुसीमा स्थानीय नागरिकसंग आफुहरु पनि संगै टिपताला पुग्ने उहाँले जानकारी दिनुभयो ।

टिपताला पुगेर शनिवार राति मात्र फुङलिङ आइपुग्नु भएका प्रजिअ आचार्यले टिपताला नेपाल–तिब्बतको महत्वको व्यवसायिक नाका समेत भएकोले द्धिदेशीय व्यपार प्रवद्र्धनमा समेत यो नाकालाई भरपूर उपयोग गर्नुपर्ने बताउँनहुन्छ ।‘व्यवसायिक हिसावले यो नाका महत्वको छ,यसलाई उपयोग गर्नेगरी सबै पक्षबाट सहयोग र समन्वय जरुरी छ’उहाँले भन्नुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts