ताप्लेजुङ पर्यटन महोत्सव उद्घाटनका लागि प्रधानमन्त्रीलाई निम्तो,जेठ ७ गते खुल्ला तथा महिला हाफ म्याराथन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २१ । जेठ ३ गतेदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङमा हुने ५ दिने ताप्लेजुङ पर्यटन महोत्सवको अन्तिम दिन जेठ ७ गते पुरुष तथा महिला हाफ म्याराथन सञ्चालन हुने भएको छ ।

मेयर कप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,डोको क्यारी रन,टपरी बुन्ने प्रतियोगिता र डोको बुन्ने प्रतियोगिता समेत हुने गरी कार्यक्रम तय भएको महोत्सव मूल आयोजक समितिका संयोजक एवम् जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार खुल्लातर्फ सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिर पुगेर पुनः सदरमुकाम फुङलिङ फर्कने गरीको करिव ४८ किलोमिटर दुरीको म्याराथन सञ्चालन हुने छ । सदरमुकाम फुङलिङबाट काफ्लेपाटी पुगेर पुनःसदरमुकाम फर्कने गरीको करिव ३९ किलोमिटर दुरीमा महिला हाफ म्याराथन सञ्चालन हुने छ ।

खुल्ला म्याराथनतर्फका बिजेताले नगद १ लाख ५१ हजार १११ रुपैयाँ तथा महिला हाफ म्याराथनतर्फका बिजेताले नगद ८१ हजार १११ रुपैयाँका साथ प्रमाणपत्र पाउने भएका छन् । यस्तै खुल्ला म्याराथनतर्फका उपबिजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्दा महिला हाफ म्याराथनतर्फका उपबिजेताले नगद ५१ हजार १११ रुपैयाँ पाउने छन् । खुल्ला म्याराथनतर्फ तेस्रो हुनेले नगद ५१ हजार १११ रुपैयाँ प्राप्त गर्दा महिला हाफ म्याराथनतर्फ तेस्रो हुनेले नगद ३१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

महोत्सव मूल आयोजक समितिका सहसंयोजक एवम् फुङलिङ नगरप्रमुख अमिर मादेनका अनुसार खुल्ला तथा महिला हाफ म्याराथन दुबैतर्फ चौथो देखि दशौं स्थान सम्ममा परेका सबैलाई जनही नगद ५ हजार रुपैयाँका साथ प्रमाणपत्र बितरण गरिने भएको छ । खुल्ला तथा हाफ म्याराथनतर्फ पुरस्कारकै लागि मात्र ५ लाख ४६ हजार ६६६ रुपैयाँ खर्च हुने मूल आयोजक समितिले जनाएको छ ।

महोत्सवकै बेला सञ्चालन हुने अन्तरपालिका स्तरीय चौथो मेयर कप भलिबल प्रतियोगिताका बिजेताले नगद २ लाख ७५ हजार एकसय रुपैयाँ पुरस्कार पाउने छन् । उपबिजेताले नगद १ लाख ४० हजार एकसय रुपैयाँ पुरस्कार प्राप्त गर्दा सेमी फाईनल पुग्ने अन्य दुईटिमले प्रोत्साहन स्वरुप प्रतिटोली ४५ हजार रुपैयाँ नगद प्राप्त गर्ने भएका छन् । टपरी बुन्ने प्रतियोगितातर्फ प्रथम हुनेले २ हजार,द्धितीय हुनेले १ हजार ५०० र तृतीय हुनेले नगद १ हजार रुपैयाँ प्राप्त गर्दा सहभागी सबैलाई नगद दुईसय रुपैयाँ प्रोत्साहन स्वरुप दिईने भएको छ ।

महोत्सव मूल आयोजक समितिले पुरुषतर्फको डोको क्यारी रन प्रतियोगिताको मिति,दौडने क्षेत्र र पुरस्कार रकम भने बैशाख २५ गते सार्वजनिक गर्ने भएको छ । डोको बुन्ने प्रतितयोगिताका बिजेताले नगद ५ हजार,दोस्रो हुनेले नगद ३ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ प्राप्त गर्दा सहभागी सबैलाई प्रोत्साहन स्वरुप नगद ५ सय रुपैयाँ दिईने भएको छ ।

महोत्सवका बेला परम्परागत सामग्री सहित औद्योगिक तथा कृषि मेला प्रदर्शनी,खाद्य परिकार स्टल प्रदर्शनी,अन्तरपालिका स्तरीय माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता,लोकझाँकी प्रदर्शनीका कार्यक्रम समेत हुने भएको छ । महोत्सवकै बेला फुङलिङबाट ३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिर सम्मको साईकिलिङ यात्रा समेत हुने भएको छ । साईकिलिङ यात्रा भने अप्रतियोगि हुने भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । प्रतियोगिताको उद्घाटनका लागि मूल आयोजक समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई निमन्त्रणा गरेको छ ।
फोटो ः ताप्लेजुङ पर्यटन महोत्सवको उद्घाटनका लागि महोत्सव मूल आयोजक समितिको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई निमन्त्रणा गरिदैं । तस्बिर ः महोत्सव आयोजक समिति

अरुलाई पनि शेयर गरौ !

Similar Posts