|

चट्याङले लागेर एक महिला घाइते

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ६ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा चट्याङले लागेर एक महिला घाइते हुनुभएको छ । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका–१ तिनधारेकी ५१ वर्षीया मञ्जु सिग्देल चट्याङले लागेर घाइते हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार आफ्नै घरको पेटीमा बसिरहेको अवस्थामा अचानक परेको चट्याङले लागेर सिग्देल घाइते हुनुभएको हो । घाइते सिग्देलको चट्याङले लागेर छाती, बायाँ हात पिल्सिएर चोट परेको लुङगेलीले जानकारी दिनुभयो । यस्तै चट्याङकै कारण सिग्देलको बायाँ खुट्टा सुनिएको पनि उहाँले जानकारी दिनुभयो ।
मंगलबार साँझ ६ः३० बजेतिर परेको चट्याङले लागेर घाइते हुनुभएकी सिग्देलको घरमै राखेर घरायसी उपचार गरिँदै आएको थियो । घरायसी उपचारले स्वास्थ्यमा सुधार नभएपछि उहाँलाई बिहीबार बिहान १०ः३० बजेतिर थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याएर भर्ना गरिएको पनि प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिनुभएको छ । उहाँको सामान्य अवस्थामा उपचार भइरहेको बताइएको छ ।

Similar Posts