प्रतियोगितामा जितेको बराबरनै रकम थप गरेर पाथीभरा याङवरक गाउँपालिकाद्धारा खेलाडीलाई बितरण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २१ । सिदिङ्वा र सिरिजङ्गा गाउँपालिकामा सञ्चालन भएका दुबै भलिबल प्रतियोगितामा प्रथम भएको ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले उक्त प्रतियोगितामा प्राप्त पुरस्कार रकम बराबर थप गरे खेलाडीको प्रोत्साहन गरेको छ ।

पाथीभरा याङ्वरकले बुधवार उल्लेखित दुबै प्रतियोगितामा सहभागी भलिबल खेलाडीलाई सम्मान सहित प्राप्त गरेको पुरस्कार रकम बराबर थप गरी खेलाडीलाई प्रदान गरेको हो । पालिका अध्यक्ष केशरकुमार सुब्बाले खेलाडीलाई थप हौसलाका निमित्त सम्मान तथा प्रोत्साहनका लागि जितेर ल्याएको पुरस्कार रकममा सतप्रतिशत रकम थप गरी पालिकाको टिमलाई प्रदान गरिएको जानकारी दिनुभयो ।

पाथीभरा याङवरक गाउँपालिकाले जिल्लाको सिरिजङ्गा गाउँपालिकाले आयोजना गरेको तेस्रो अन्तर पालिका स्तरीय भलिबल तथा सिदिङ्वा गाउँपालिकाले सञ्चालन गरेको प्रथम सिदिङ्वा रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि जितेको थियो । पालिका अध्यक्ष सुब्बा,उपाध्यक्ष रनमाया गुरुङ,प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरे सहितको उपस्थितिमा खेलाडीलाई सम्मान तथा थप प्रोत्साहन रकम बितरण गरिएको गाउँपालिका अध्यक्षका स्वकीय सचिव तेजविर मेन्याङ्वोले जानकारी दिनुभयो ।

पाथीभरा याङवरकको टोलीले सिरिजङ्गा गाउँपालिकाले आयोजना गरेको तेस्रो अन्तर पालिका स्तरीय भलिबल प्रतियोगितामा २ लाख ५५ हजार रुपैयाँ पुरस्कार जितेको थियो । यस्तै सिदिङ्वा गाउँपालिकाले सञ्चालन गरेको प्रथम सिदिङ्वा रनिङ शिल्ड भलिबल प्रतियोगितामा पाथीभरा याङ्वरकले २ लाख ५० हजार रुपैयाँ नगद हात पारेको थियो । पाथीभरा याङ्वरकले दुबै प्रतियोगितामा जितेको ५ लाख ५ हजार रकममा ५ लाख ५ हजार रुपैयाँ थप गरी कूल पुरस्कार रकम खेलाडीलाई बितरण गरेको पालिका अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts