मध्यतमोर जलविधुत आयोजनास्थलमै मनाइयो होली पर्व
-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १२ । शहर तथा बजार क्षेत्रमा मात्र नभई ग्रामीण भेग र आयोजना स्थलसम्म नै होली पर्वको रौनक छाएको छ । रंगहरुको पर्वका रुपमा मनाइने होली आपसी भातृत्वलाई थप घनिष्ट बनाउन र मनोरञ्जन साटासाट गर्न गाउँबस्ती तथा आयोजनास्थलमै मनाउन थालिएको हो ।
शहर बजारतिर बालबालिका, युवा तन्नेरी, कर्मचारी लगायतका मानिसहरु होलीमा रमाइरहेका बेला ताप्लेजुङमा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले पनि पर्व मनाएको छ । होली पर्व मनाउने क्रममा लिमिटेडका आयोजना संयोजक डा. मनिराज पोख्रेलले आफ्ना कर्मचारीलाई रंग लगाई दिनुभएको छ ।
मध्य तमोर जलविधुत आयोजनामा कार्यरत कर्मचारीबीचको भ्रातृत्वलाई थप घनिष्ट बनाउन र पर्वमा मनोरञ्जन तथा खुसी साटासाट गर्ने उद्देश्यले आयोजनास्थलमै होली पर्व मनाइएको हो । संयोजक डा. पोख्रेलसहित आयोजनामा कार्यरत कर्मचारीले एकापसमा रंग लगाएर होली पर्व मनाएको आयोजनाका व्यवसाय, सुरक्षा तथा वातावरण अधिकृत फुर्वा शेर्पाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार आयोजना संयोजक पोख्रेलले सबै कर्मचारीलाई विभिन्न खाले रंग लगाई दिएर खुसी आदानप्रदान तथा भातृत्व प्रकट गर्नुभएको छ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले तमोर नदीबाट ७३ मेगावाट क्षमताको विधुत उत्पादन गर्न लागेको छ । जिल्लाको फुङ्लिङ नगरपालिका, फक्ताङ्लुङ र मिक्वाखोला गाउँपालिका आयोजनास्थल रहेको मध्य तमोर जलविधुत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।