सिरिजङ्गा गाउँपालिकाको एकीकृत घुम्ति सेवा शिविर ः ८६ जना आँखाका रोगीले लिए शल्यकृया सेवा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ६ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले ८६ जना आँखाका रोगीहरुलाई शल्यकृया सेवा प्रदान गरेको छ ।

सिरिजङ्गा गाउँपालिकाका सूचना अधिकारी तथा स्वास्थ्य शाखा संयोजक संजीव सिंहका अनुसार ७५ जना मोतियाबिन्दु भएका आँखाका रोगीहरुको शल्यकृया गरिएको छ । यस्तै १० जनाको टेरिजम(आँखामा मासु पलाएर समस्या भएका बिरामी) तथा एकजना इन्ट्रोपिन समस्या भएका बिरामीको आँखाको शल्यकृया गरिएको हो । मेची आँखा अस्पताल बिर्तामोड झापाको प्राविधिक सहयोगमा आइतवारबाट तेल्लोकमा शल्यकृया सहितको सेवा प्रदान भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले जानकारी दिनुभयो ।

पालिकाले यसअघि मेची आँखा अस्पतालकै प्राविधिक सहयोगमा पालिकाका प्रत्येक वडामा पुगेर मोतियाबिन्दुका बिरामीको छनौट गरेको थियो । प्रत्येक वडामा छनौट भएका मोतियाबिन्दुका बिरामीलाई पालिकाले यातायातको प्रवन्ध गरी शल्यकृया स्थल प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याई शल्यकृया सेवा,औषधि र चश्मा समेत निःशुल्क रुपमा उपलब्ध गराएको समेत नेपालीले जानकारी दिनुभयो । मंगलवार ८९–८९ जनाले जनाको आँखा तथा स्वास्थ्य जाँच गराएका थिए । ५४ जनालाई निःशुल्क चश्मा बाँकीलाई औषधि बितरण गरिएको पालिकाले जनाएको छ । यसअघि एकीकृत घुम्ति शिविर लिएर गाउँ गाउँ पुगेको टोलीले मोतियाबिन्दुका बिरामी छनौट देखि आँखा तथा स्वास्थ्य जाँच संगै निःशुल्क औषधि तथा चश्मा बितरण गरेको थियो ।

एकीकृत घुम्ति शिविर अन्तरगत पालिकाले वडा नं ६ मामाङ्खे,वडा नं ७ खेवाङ र वडा नं ८ याम्फुदिनलाई लक्षित गरी खेवाङ,वडा नं १ सिनाम,वडा नं २ आम्बेगुदिन,वडा नं ३ सिकैचा तथा वडा नं ४ तेल्लोक र वडा नं ५ पेदाङलाई लक्षित तेल्लोकमा सेवा बितरण भईरहेको छ । एकीकृत घुम्ति शिविरमा जन्म,मृत्यु,बिबाह,बसाँईसराई सहितका कार्य हुने व्यक्तिगत घटना दर्ता,बैंक खाता खोल्ने,व्यवसाय दर्ता तथा नविकरण,निःशुल्क औषधि बितरण तथा चेकजाँच र उपचार र गाउँपालिका तथा वडाबाट सञ्चालन हुने योजनाको प्राविधिक मूल्याङ्कन,सम्झौता र अनुगमन सहितका कार्य हुँदै भएका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts