| |

पर्यटन शिक्षा आजको आवश्यकताः मन्त्री भट्टराई

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २२ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो । विश्व पर्यटनको केन्द्रमध्ये नेपाल पनि एक भएकोले यहाँको पर्यटन प्रवर्ध्दनसँगै विकास गर्नका लागि पर्यटन शिक्षा आजको आवश्यकता भएको मन्त्री भट्टराईले बताउनुभएको हो ।
शनिबार ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं. ३ लिङ्खिमस्थित सिंवा माध्यमिक विद्यालयमा स्थापना गरिएको सूचना सञ्चार प्रविधि (आईसीटी) ल्यावको उद्घाटन गर्नुहुँदै मन्त्री भट्टराईले पर्वतारोहणसम्बन्धी शिक्षा आर्जन गर्नका लागि पर्यटन शिक्षा अपरिहार्य भएको बताउनुभयो । भट्टराईले कञ्चनजङ्घा सहितका हिमशृङ्खला तथा अन्य आकर्षक पर्यटकीय क्षेत्रहरु ताप्लेजुङमा रहेकाले पर्वतारोहणमा दक्षता राख्ने जनशक्ति यहीँ उत्पादन गर्न पर्यटन शिक्षा आवश्यक रहेको उहाँको भनाइ छ ।
पर्यटन शिक्षामार्फत पर्वतारोहणका लागि पथप्रदर्शक, शेर्पा (भरिया) लगायतका आवश्यक जनशक्ति उत्पादन गर्न सकेमा मात्र पर्यटन विकास सम्भव भएकाले अब विद्यालयस्तरबाट नै पर्यटन शिक्षाको अध्ययन हुनुपर्ने उहाँले जोड दिनुभयो । ताप्लेजुङको मुख्य पर्यटकीय क्षेत्र कञ्चनजङ्घाको प्रवेशद्वारको रुपमा रहेको सिंवा माविमा ऐच्छिक विषयको रुपमा पर्यटन शिक्षा राख्न विद्यालयलाई उहाँले सल्लाह दिनुभयो । उक्त शिक्षामा मन्त्रालयको तर्फबाट गर्न सकिने सहयोगका लागि आफूले पहलकदमी गर्ने पनि मन्त्री भट्टराईले बताउनुभयो ।
यता सङ्घीय सरकारको करिव १५ लाख रुपियाँ बराबरको बजेट सहयोगबाट सिँवा माविमा आईसीटी ल्याव स्थापना गरिएको हो । ल्यावका लागि २४ थान कम्प्युटर, ब्याट्री, इन्भर्टर, सीसी क्यामरा लगायतका उपकरण तथा सामग्री जडान गरिएको विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतमले जानकारी दिनुभयो ।
प्रधानाध्यापक गौतमले प्रदेशसभा सदस्य तथा फक्ताङ्लुङ गाउँपालिकाको थप सहयोगमा कक्षा व्यवस्थापनका लागि सामग्री जुटाइएको पनि बताउनुभयो । हाल सिँवा माध्यमिक विद्यालयमा फक्ताङ्लुङ र मिक्वाखोला गाउँपालिका समेतबाट आउने साढे चार सय विद्यार्थी अध्ययरत रहेका छन् । उता आईसीटी ल्याब भने सिँवासहित जिल्लाका सातवटा माध्यमिक विद्यालयमा स्थापना गरिएको मन्त्रीका प्रेस संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
शनिबार नै फक्ताङ्लुङ गाउँपालिकामा स्थानीय जनप्रतिनिधि, निजामित कर्मचारी, शिक्षकसहितको उपस्थितिमा अन्तक्र्रिया पनि सम्पन्न भएको छ । अन्तर्क्रियालाई सम्बोधन गर्नुहुँदै मन्त्री भट्टराईले जिल्लाकै पर्यटनका अथाह गन्तव्य रहेको गाउँपालिका भएकाले थप पर्यटन प्रवर्ध्दन तथा विकासका लागि जनप्रतिनिधि, कर्मचारीसहित सबै पक्ष लागी पर्न सुझाव दिनुभयो । पर्यटन विकासले नै फक्ताङ्लुङ गाउँपालिकाको समृद्धि हुने हुँदा पर्यटन प्रवर्ध्दनका योजना र क्रियाकलापलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । नेकपा फक्ताङ्लुङ गाउँपालिका कमिटीका अगुवा कार्यकर्तासँग पनि अन्तर्क्रिया सम्पन्न गरिएको छ ।

Similar Posts