महिला स्वास्थ्य स्वयंसेविकालाई सम्माजनक बिदाई गर्दै सिरिजङ्गा,१५ देखि ५० हजार रुपैयाँ सम्म प्रोत्साहन दिईने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १४ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले सम्मानजनक बिदाईमा जान चाहने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सेवाका आधारमा १५ हजार देखि ५० हजार रुपैयाँ सम्म प्रोत्साहन स्वरुप दिने घोषणा गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीका अनुसार सम्मानजनक बिदाईलाई एकरुपता र पारदर्शी बनाउन सेवा अवधिका आधारमा प्रोत्साहन रकम दिइने भएको हो । उहाँका अनुसार ५ बर्ष वा सो भन्दा माथि ९ बर्ष सम्म सेवा गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई जनही १५ हजार,१० बर्ष वा सो भन्दा माथि १९ बर्ष सम्म सेवा गरेकालाई ३० हजार र २० बर्ष वा सो भन्दा भन्दा माथि सेवा गरेका महिला स्वास्थ्य स्वयंसेविकालाइ जनही ५० हजार रुपैयाँ प्रोत्साहन स्वरुप दिएर सम्मानजनक बिदाई गरिने भएको छ ।

नेपालीका अनुसार सम्मानजनक बिदाईमा जान चाहनेले फागुन १५ देखि चैत १५ सम्म एकमहिना भित्रमा सम्वन्धित वडाको सिफारिसका साथ आबेदन दिनुपर्ने छ । आबेदकले आफ्नो नागरिकताको प्रतिलिपि,कामकाज गरेको सेवा प्रमाणितको पत्र,स्वेच्छिक अवकास वा महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी त्याग गरेको पत्र, जिम्मेवारी त्याग(राजीनामा) भएको भनी सम्वन्धित आमा समूहबाट प्रमाणित भएको निर्णयपत्र र सम्वन्धित व्यक्तिको नेपाल बैंक लिमिटेडको चेकको प्रतिलिपि संलग्न राखी आबेदन दिनुपर्ने प्रवन्ध गरिएको नेपालीले जानकारी दिनुभयो ।

सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा नेपाल बैंक लिमिटेडको शाखा रहेको छ । गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानका अनुसार गाउँपालिकाको १३ औं गाउँसभाले महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाई कार्यक्रम कार्यनीति पारित गरेपछि यो प्रकृया कार्यान्वयनमा आएको हो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts