राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा ताप्लेजुङमा सोमवार डोरी तान्ने मैत्रीपूर्ण प्रतियोगिता सहितका कार्यक्रम हुँदै

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ६ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा ताप्लेजुङमा सोमवार राजनीतिक दल तथा जनप्रतिनिधि र कर्मचारीकाबीच मैत्रीपूर्ण डोरी तान्ने प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको अध्यक्षतामा आइतवार बसेको बैठकले बिभिन्न कार्यक्रममा साथ प्रजतान्त्र दिवस मनाउने निर्णय गरेको जिल्ला मूल समारोह समितिका सदस्य तथा प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सोमवार फागुन ७ गते जिल्ला समन्वय समितिको परिसरमा वृक्षरोपण समेत गरिने छ । यस्तै जिल्ला समन्वय समितिको प्रांगणमा राष्ट्रिय झण्डा झण्डोत्तोलनको कार्यक्रम समेत राखिएको छ ।

प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समितिले फागुन ६,७ र ८ गते तीनदिन घर तथा सार्वजनिक निकायहरुमा साँझ दीपावली गर्न समेत आवह्वान गरेको छ । मूल समारोह समितिले जिल्ला भरका सबै स्थानीय तहमा आ–आफु अनुकूल कार्यक्रम तय गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन समेत आग्रह गरेको छ ।

मैत्रीपूर्ण डोरी तान्ने प्रतियोगिताका लागि मणिशंकर पोमू संयोजक रहेको तीन सदस्यीय समिति गठन भएको छ । समितिमा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख गणेशप्रसाद पोखरेल तथा ताप्लेजुङ उद्योग बाणिज्य संघका महासचिव कमल लिम्बू सदस्य रहनु भएको छ ।

बिजेतालाई जिल्ला समन्वय समितिमार्फत व्यवस्थापन गर्नेगरी १० हजार रुपैयाँ राशीको पुरस्कारको समेत व्यवस्था गरिएको राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समितिले जनाएको छ । २००७ सालको क्रान्ति सफल भएर १ सय ४ वर्षे लामो निरङ्कुश जहाँनीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक बर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ ।

Similar Posts