गतभन्दा चालू आवको छ महिने अवधिमा ताप्लेजुङबाट झण्डै एकलाख क्युविक फिट कम काठ निकासी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ८ । आर्थिक बर्ष २०७९।८० को छ महिने अवधिको तुलनामा चालू आव २०८०।८१ को सोहि अवधिमा काठको निकासीमा झण्डै १ लाख क्युविक फिट कमी आएको छ ।

डिभिजन वन कार्यालयका नायव सुब्बा युवराज पौडेलका अनुसार चालू आवको पुस मसान्त सम्ममा ५ लाख ३ हजार ६ सय ४६ क्युविक फिट काठ निकासी भएको छ । अघिल्लो आवको सोहि अवधिमा ६ लाख ६६ हजार ८ सय ३० क्युविक फिट काठ निकासी भएको थियो । अघिल्लो आवको छ महिने अवधि भन्दा चालू आवको सोहि अवधिमा १ लाख ३ हजार १ सय ८४ क्युविक फिट काठ कम निकासी भएको छ । निकासी कम हुँदा कार्यालयले असुल गर्ने मूल्य अभिबृद्धि कर वापतको रकम समेत घटेको छ । प्रदेश सेवा शुल्क भने गत आवको भन्दा चालू आवको छ महिने अवधिमा झिनो रकमले बृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चालू आवको साउन देखि पुस मसान्त सम्मको अवधिमा काठ निकासीको मूल्य अभिबृद्धि कर वापत १ करोड ९८ लाख ५७ हजार ७ सय ८० रुपैयाँ असुल भएको छ । अघिल्लो आवको सोहि अवधिमा मूल्य अभिबृद्धि कर वापत कार्यालयले २ करोड ६० लाख ३ हजार ५ सय ९६ रुपैयाँ असुल गरेको थियो । प्रदेश सेवा शुल्क वापत भने चालू आवको छ महिने अवधिमा १४ लाख ८९ हजार ३ सय ५६ रुपैयाँ असुल भएको छ । अघिल्लो आव २०७९।८० को सोहि अवधिमा प्रदेश सेवा शुल्क वापत १३ लाख ३६ हजार ३ सय ३९ रुपैयाँ असुल भएको थियो ।

डिभिजन वन कार्यालयका अनुसार आव २०७९÷८० मा १४ लाख ५६ हजार १९५.१५ क्युबिक फिट काठ निकासी भएको थियो । आव २०७८।७९ भरीमा ९ लाख ७९ हजार ४ सय ४५ क्युविक फिट मात्र काठ निकासी भएको थियो । डिभिजन वन कार्यालयले आवश्यक प्रकृया पूरा गरी छोडपूर्जी तथा कटान आदेश दिने गर्छ । यहाँबाट सबैभन्दा बढी निजी तथा आवादी जमिनमा रहेको उतिस प्रजातिको काठ निकासी हुने गरेको छ । यस्तै चिलाउने,मौवा,सिमल,चाँप,कटुस,मलातो,सिरिस,बाङ्गी काठ,पानीसाज,लप्सी सहितका प्रजातिको काठ निकासी हुने गरेको छ । उतिसको तुलनामा अन्य प्रजातिको काठको निकासी कमैमात्र हुने गरेको समेत डिभिजन वन कार्यालयले बताएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts