| |

फुङ्लिङद्वारा सडक क्षेत्राधिकारभित्र संरचना नबनाउन आग्रह

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २३ । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाले मेची राजमार्गसहितका सडकको क्षेत्राधिकारभित्र संरचना नबनाउन आग्रह गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै सडक क्षेत्राधिकारभित्र भौतिक पूर्वाधार (घर–टहरा) जस्ता कुनैपनि संरचना निर्माण नगर्न नगरवासीलाई आग्रह गरेको हो ।
झापाको चारआलीदेखि ताप्लेजुङ जोड्ने मुख्य सडक मेची राजमार्ग र प्रदेश तथा नगरपालिकाले निर्माण गरेको सडक क्षेत्राधिकारमा घर–टहरा र अन्य कुनैपनि किसिमका संरचना नबनाउन अनुरोध गरेको हो । त्यस्ता भौतिक पूर्वाधारहरु निर्माण गर्नुपरेमा सडक मापदण्डअनुसार नगरपालिकासँग अनुमति लिएर मात्र संरचना बनाउन पनि नगरवासीलाई आग्रह गरेको छ ।
नगरपालिकाका ११ वटै वडाका बासिन्दाले सडक क्षेत्रमा संरचना बनाउनुपरेमा सडक मापदण्ड ख्याल गर्नुपर्ने र नगरपालिका कार्यालयसँग अनुमति लिएर मात्र काम गर्नुपर्ने उल्लेख गरेको छ । यसअघि फुङ्लिङ नगरपालिकाले सडक डिभिजन कार्यालय इलामको परिपत्र तथा अनुरोधमा मेची राजमार्गअन्तर्गत फुङ्लिङ बजारभित्र सडक क्षेत्राधिकार मिचेर (अतिक्रमण गरी) निर्माण गरिएका संरचनाहरु हटाई सकेको छ ।
नगरपालिकाले बजार क्षेत्रको सडकका दाँया–बाँया बनाइएको दर्जनौ संरचना (घर–टहरा) हटाएको हो । घर टहरासहितका संरचना हटाए पनि मेची राजमार्ग सडक बिस्तारको काम अहिलेसम्म सुरु नगरिँदा भने स्थानीयवासी असन्तुष्ट बन्दै आएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts