|

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १९ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा हिमपात भएको छ । बिहीबार अपराह्नपछि मौसममा केही बदलीसँगै प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा हिमपात भएको हो ।
पाथीभरा क्षेत्रको माथिल्लो फेदीका स्थानीय होटल व्यवसायी राजेन्द्र महतका अनुसार दिउँसो ४ बजेपछि हिमपात भएको हो । फेदी क्षेत्रमा सेताम्मे हुनेगरी हिउँ परेको र उहाँले सामान्य हिउँ पर्ने क्रम जारी रहेको पनि जानकारी दिनुभयो ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीसमेत रहनुभएका महतले बदलिँदो मौसमको टुङ्गो नहुने हुँदा अझै बढी हिउँ पर्नसक्ने बताउनुभयो । फेदीसम्म नै हिउँ परेकाले तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा मन्दिर क्षेत्रमा अझै धेरै हिउँ परेको बताइएको छ । यता हिउँ पर्न थालेपछि चिसो ह्वात्तै बढेको पनि फेदीका स्थानीयले बताएका छन् ।
यस्तै जिल्लाको उच्च हिमाली भेगमासमेत हिमपात हुनसक्ने स्थानीयले अनुमान लगाएका छन् । हिमपात हुँदाजस्तै मौसम धुम्मिएर उच्च हिमाली डाँडाहरु ढाकिएकाले हिमपात सुरु भएको हुनसक्ने स्थानीयवासीको अनुमान छ । अपराह्नपछि मौसममा बदली आएको र मौसम बदलीसँगै चिसो पनि निकै बढ्दै गएको स्थानीयको भनाइ छ ।
जिल्लामा दुई महिनाअघि अर्थात गत कात्तिक १९ गते पहिलो पटक हिमपात भएको थियो । यता हिउँद मौसमको आधा अवधि वित्दासमेत वर्षा र हिमपात नहुँदा जिल्लावासी किसान भने चिन्तित बनिरहेका छन् । लामो समयसम्म वर्षा र हिमपात नहुँदा खेतीबालीका लागि मौसम प्रतिकुल हुनेभन्दै स्थानीय किसान चिन्तित बन्ने गरेका हुन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts