समुदाय अनुशिक्षणका लागि ताप्लेजुङको दोभान बजारमा बिपद् नमूना अभ्यास

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २७ । आगलागीजन्य घटनाबाट बच्न सकिने उपाय र घटना भइहाले त्यसपछि गरिने प्रतिकार्यका बारेमा समुदाय अनुशिक्षणका लागि जिल्ला बिपद् व्यवस्थापन समितिले ताप्लेजुङको दोभान बजारमा बिपद् नमूना अभ्यास कार्य सम्पन्न गरेको छ ।

फुङलिङ नगरपालिका सहित मेरिङदेन गाउँपालिका,आठराई त्रिबेणी गाउँपालिका,मिक्वाखोला गाउँपालिका र मैवाखोला गाउँपालिकाको सहकार्यमा यस्तो नमूना अभ्यास शिक्षण कार्यक्रम सम्पन्न गरिएको जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो । ताप्लेजुङस्थित नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका बिपद् पूर्व तयारी,उद्धार तथा प्रतिकार्य योजनामा अनुभव हासिँल गरेका व्यक्तिहरुले अनुशिक्षण गराएका थिए । अभ्यासका क्रममा नमूनागत घर बनाई आगलागी भएपछि गरिने उद्धार,राहत,घाईतेको उपचार,तथ्याङ्क संकलन,आपतकालिन राहत बितरण र पुर्नस्थापना सम्मका नमूनागत क्रियाकलाप सम्पन्न गरिएको थियो । २०७७ साल फागुन १८ गते भएको आगलागीले ध्वस्त दोभान बजार पुनः आफ्नै लयमा फर्कदै छ ।

बिपद्का बेला प्राप्त हुने सूचना र सो सूचनाको पुर्नपुष्टी,कार्यस्थलमा खटिने जनशक्तिको तयारी,कार्यस्थलमा गरिने राहत तथा उद्धारको कार्यको प्रयोग,उद्धारका क्रममा अपनाइने रणनीति समेत सो बेला प्रस्तुत गरिएको नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्मका गुल्मपति पवन नगरकोटीले बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका तालिमप्राप्त जनशक्तिले ग्याँस सिलिण्डरबाट हुने आगलागीबाट सचेतना अपनाउन गरिने सावधानीका उपाय बारे अभ्यास शिक्षण गराएका थिए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बूले बिपद् जोखिम क्षेत्रहरुमा सम्भावित जोखिमको पहिचान गरी त्यसबिरुद्ध सावधानी रहन र बिपद् पछि प्रतिकार्यका क्रममा अपनाईने रणनीति बारे समुदायलाई जानकारी गराईएको बताउनुभयो । सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र प्रसाँईले हिउँद याम सुरु लागेको यो बेला आगलागीको जोखिम बढी हुने भएकोले त्यसबिरुद्ध जनचेतनाका लागि नमूना अभ्यास शिक्षण कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

त्यस क्रममा दोभान र आसपासका स्थानीयलाई आगलागी सुरुआती क्रममा आगो निभाउन प्रयोग हुने ग्याँस एक्सिटिङग्युसरको प्रयोग गर्ने तरिका पनि सिकाइएको जिल्ला बिपद् व्यवस्थापन समितिले जनाएको छ । दमकल नपुग्ने क्षेत्रमा पानीको स्रोतबाट मोटर चलाई दमकलको झैं पानी प्रहार गर्न सक्ने उपकरण समेत प्रयोग गरेर नमूना अभ्यास गरिएको थियो । मोटर सहित पानी प्रवाह हुने यस्तो किसिकमा सामानहरु फुङलिङ नगरपालिकालाई केहि समय अघि प्राप्त पनि भएको छ । कार्यक्रममा मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङ्गाम,आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र(दीपेन)पोमू,मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङ र मैवाखोला गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बू सहित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु,रेडक्रसका प्रतिनिधि,दोभान बजार उद्योग बाणिज्य संघका प्रतिनिधि सहित स्थानीय बासिन्दा र सञ्चारकर्मी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts