ताप्लेजुङको दोखु ऐश्वर्यचौकमा बोलेरो र मोटरसाईकल ठोकिए,मोटरसाईकल चालक गम्भिर घाइते

ताप्लेजुङ,असोज १२ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ७ ऐश्वर्यचौकस्थित मेची राजमार्गमा बोलेरो र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक गम्भिर घाईते भएका छन् ।
गम्भिर घाइते मोटरसाईकल चालक मेरिङदेन गाउँपालिका वडा नं १ थिङलाबुका २८ बर्षिय अनिल शेर्पालाई ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि रेफर गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बूले जानकारी दिनुभयो ।
उहाँका अनुसार धरानबाट ताप्लेजुङ सदरमुकामतर्फ आउँदै गरेको को१ज२५२७ नम्बरको बोलेरो र बिपरित दिसातर्फ जाँदै गरेको प्र–१०३–००१ प ४२९० नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
घाइतेको टाउको,छाति र दुबै खुट्टामा चोट रहेको र अवस्था गम्भिर रहेको समेत प्रहरीले बताएको छ । प्रहरीले बोलेरो चालक मेरिङदेन गाउँपालिका वडा नं ६ बस्ने २२ बर्षिय ग्याबु शेर्पालाई नियन्त्रणमा लिएको र दुबै सवारी प्रहरी कार्यालयमा ल्याईएको बताएको छ ।