|

ताप्लेजुङमा मैत्रीपूर्ण दौड ः पुरुषतर्फ गणेशबाबु र महिलातर्फ सविता पहिलो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ४ । ताप्लेजुङको फुङलिङमा सञ्चालित ४० बर्ष माथि उमेर समूहको दौड प्रतियोगिताको पुरुषतर्फ गणेशबाबु निरौला र महिलातर्फ सविता गौतम प्रथम हुनु भएको छ ।

संबिधान दिवसको अवसरमा बिहीबार बिहान फुङलिङमा दौड प्रतियोगिताको आयोजना गरिएको थियो । जिल्ला समन्वय समितिको प्रवेशद्धार अगाडिबाट सुरु भएको दौड दोबाटो–ट्याक्सीलाइन–पराजुलीचौक–सिटिहल नजिक–बीरेन्द्रचौक हुँदै तल्लोबाटोबाट पुनःजिसस प्रवेशद्धार अगाडि गएर टुङ्गिएको थियो । उल्लेखित क्षेत्रको दुरी ९ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फ निरौला प्रथम हुँदा ९ मिनेट ५७ सेकेण्डमा दुरी पूरा गर्ने दावा तामाङ दोस्रो हुनुभयो । १० मिनेट ३४ सेकेण्डमा सो दुरी पूरा गर्दै कुमार महतारा तेस्रो हुनुभयो । पुरुषतर्फ ३५ जना धावकको सहभागिता रहेको थियो । जिसस प्रमुख छिरिङ लामा,उपप्रमुख कृष्णप्रसाद लिङखिम,सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई सहित दौडमा सामेल हुनुहुन्थ्यो ।

उता सोहि क्षेत्रको दुरी १३ मिनेट १७ सेकेण्डमा पूरा गर्दै गौतम प्रथम हुँदा १३ मिनेट २७ सेकेण्डमा दुरी पूरा गर्ने कला गोम्देन द्धितीय र १४ मिनेट १८ सेकेण्डमा दुरी पूरा गर्ने हर्कमति लिम्बू तृतीय हुनुभयो । महिलातर्फ १५ जना धावकको सहभागिता रहेको आयोजक जिल्ला समन्वय समितिले जनाएको छ । पुरुषतर्फ प्रथम हुनेले नगद ७ हजार,द्धितीय हुनेले ५ हजार र तृतीय हुनेले ३ हजार रुपैयाँका साथ प्रमाणपत्र पाउनु भएको छ । महिलातर्फ प्रथम हुनेले नगद ५ हजार,द्धितीय हुनेले ३ हजार र तृतीय हुनेले २ हजार रुपैयाँका साथ प्रमाणपत्र पाउनुभयो ।

जिल्ला स्तरमा संबिधान दिवस मनाउन जिल्ला समन्वय समिति प्रमुख लामाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको थियो । असोज २ गते नगरसफाई,३ गते फुङलिङ नगरप्रवेशद्धार क्षेत्रमा झण्डोत्तोलन र ४ गते मैत्रीपूर्ण दौड प्रतियोगिता सहित यसबर्षको संबिधान दिवस मनाइएको आयोजकले जनाएको छ । बुधवार साँझ सार्वजनिक निकायहरुमा दिपावली समेत गरिएको थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts