| |

हातमा कालोपट्टी बाँधेर काम गर्दै स्थानीय तहका कर्मचारी

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २२ । ताप्लेजुङका स्थानीय तहका कर्मचारीले शुक्रबार हातमा कालोपट्टी बाँधेर कामकाज गरेका छन् । प्रस्तावित निजामति सेवा ऐनको विरोध जनाउँदै स्थानीय तहका कर्मचारीले कालोपट्टी बाँधेर काम गरेका हुन् ।
निजामति सेवा दिवसको कार्यक्रमसमेत बहिष्कार गरेका स्थानीय तहका कर्मचारीले हातमा कालोपट्टी बाँधेर आफ्नो कामकाज गरेका हुन् । फुङ्लिङ नगरपालिका, मिक्वाखोला गाउँपालिकासहितका स्थानीय तहमा कार्यरत कर्मचारीले शुक्रबार निजामति सेवा ऐनको विरोध गर्दै कालोपट्टी बाँधेर काम गरेका हुन् ।
स्थानीय तहका कर्मचारीले प्रशासनिक संरचनामै फाटो ल्याउनेगरी संघीय निजामति ऐन, प्रदेश निजामति ऐन र स्थानीय ऐन भनेर विभेदकारी नीति निर्माण गरेकोभन्दै विरोध गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति सेवा दिवस मनाउन भनेर पत्राचार गरेको भए पनि दिवसको कार्यक्रम बहिष्कार गरी आफूहरु विरोधमा उत्रेको जनाएका छन् ।
यसअघि विज्ञप्ति नै प्रकाशित गरी प्रस्तावित संघीय निजामति ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीको सेवा, सुविधा र वृत्तिविकासको सुनिश्चितता नभएको उल्लेख गरेका छन् । त्यस्तै ऐनमा स्थानीय तहका कर्मचारीलाई निजामति कर्मचारीको परिभाषामा नसमेटी कर्मचारीहरुबीच विभेद सिर्जना गर्ने खालको भएकाले विरोधमा उत्रन बाध्य हुनुपरेको स्थानीय कर्मचारीको भनाइ छ ।
स्थानीय तहका कर्मचारीले संघीय निजामति सेवा ऐन नभई एकीकृत निजामति सेवा ऐन ल्याउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था संघीय ऐनमै खुलाउनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको हुनुपर्नेजस्ता विभिन्न माग पनि राखेका छन् । अन्य मागमा निजामति अस्पतालमा सबै सरकारी कर्मचारीलाई समेट्नुपर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्वार स्थानीय सेवामा मात्र हुनुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरुको सेवा, सुविधा तथा वृत्तिविकास सम्बन्धमा विभेद नभई समान हुनुपर्नेजस्ता रहेका छन् ।

Similar Posts