| |

विदेशी प्रशिक्षकद्वारा फक्ताङ्लुङका किसानलाई कृषि तालिम

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ५ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई विदेशी प्रशिक्षकले कृषिसम्बन्धी तालिम दिन थालेका छन् । स्वस्थ्यकर अर्थात अर्ग्यानिक कृषिजन्य वस्तु उत्पादन गर्ने योजनामा जुटेका स्थानीय किसानलाई विदेशी प्रशिक्षकहरुले तालिम दिन थालेका हुन् ।
फक्ताङ्लुङ गाउँपालिका र हिमालयन एग्रो इकोलोजी डेभलपमेन्ट नामक संस्थाको सझेदारीमा आयोजना गरिएको कृषिसम्बन्धी तालिमको सहजीकरण विदेशी प्रशिक्षकले गरिरहनुभएको छ । सोमबारदेखि सुरु भएको तीन दिने कृषि तालिममा क्यानडाका नागरिक ज्याक वर्टन र आयरल्याण्डका नागरिक चार्ली बाबाले प्रशिक्षण दिँदै आउनुभएको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूका स्वकीय सचिव दिलकुमार पतङ्वाले जानकारी दिनुभयो ।
पतङ्वाका अनुसार कृषि विज्ञका रुपमा रहनुभएका विदेशी नागरिकद्वय ज्याक र चार्लीले माटोको अध्ययन तथा प्रकृतिबारे तालिमका सहभागीलाई जानकारी गराउँदै आउनुभएको छ । यस्तै वातावरणीय प्रभाव, बिरुवा उत्पादन, कम्पोस्ट मल उत्पादन, मल्चिङ प्रविधि, कटिङ, ग्रफ्टिङ लगायतका विषय साथै रोग कीराको प्रकोप र नियन्त्रणसम्बन्धी केन्द्रित रहेर प्रशिक्षक द्वयले तालिम दिनुहुने छ ।
हाल नेपालमै रहेर कृषि फार्म सञ्चालन गर्दै आउनुभएका प्रशिक्षक द्वयले यहीँको माटो र हावापानी सुहाउँदो कृषि कर्मबाट प्राप्त गरेको ज्ञान, सीप तथा अनुभव समेतको आधारमा किसानलाई तालिम दिँदै आउनुभएको बताइएको छ । क्यानडाका ज्याक वर्टनले विगत एक वर्ष अघिदेखि इलाम जिल्लामा अल्मोस्ट हेभन फार्म र आयरल्याण्डका चार्ली बाबाले काभ्रेपलाञ्चोक जिल्लामा पञ्चतत्व जैविक फार्म सञ्चालन गरेर कृषि कर्म गर्दै आइरहनुभएको छ ।
परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरणतर्फ उन्मुख गराउँदै स्वस्थ्यकर वा अर्ग्यानिक बाली उत्पादन गर्न र स्थानीय किसानलाई आत्मनिर्भर बनाउनमा सहयोग पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले बताउनुभयो । गाउँपालिकामा कृषि उत्पादनलाई रासायनिक मल र विषादीको प्रयोगरहित बनाउन कृषि अनुसन्धान केन्द्रसहितको योजना कार्यान्वयनमा ल्याइसकेको अवस्थामा तालिमले यसका लागिसमेत तालिमले सहयोग पुग्ने विश्वास राखिएको अध्यक्ष लिम्बूले बताउनुभयो ।
तालिममा वडा ७ ओलाङ्चुङगोलाबाहेक बाँकी छ वटा वडाका १५ जना महिला र ४० पुरुष गरी ५५ जना किसानको सहभागिता रहेको छ । गाउँपालिका प्रशासकीय केन्द्र तापेथोकमा आयोजना गरिएको तालिम बुधबार सम्पन्न हुने फक्ताङ्लुङ गाउँपालिकाले जनाएको छ । यता विदेशी कृषि विज्ञले दिएको तालिम थप प्रभावकारी हुने अपेक्षा राखिएको गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बूले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts