ताप्लेजुङमा करिव सोह्रसय उद्योग,आव २०७८।७९ भन्दा पछिल्लो आवमा उद्योग दर्ता केहि कम
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २१ । ताप्लेजुङमा अहिले सम्म करिव सोह्रसय उद्योग दर्ता भएको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका सूचना अधिकारी नविन भट्टराईका अनुसार हाल सम्म १ हजार ५ सय ८९ उद्योग दर्ता भएका छन् ।
आर्थिक बर्ष २०७४।७५ सम्ममा ९ सय ६१ उद्योग दर्ता भएकोमा त्यसपछि आव २०७९।८० सम्ममा ६ सय ८० उद्योग दर्ता भएको भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७७।७८ मा सबैभन्दा बढी उद्योग दर्ता भएका छन् । सो आवमा २ सय ६१ उद्योग दर्ता भएका थिए । आव २०७५।७६ मा सबैभन्दा कम ४२ वटा मात्र उद्योग दर्ता भए । आव २०७६।७७ मा ६२ वटा,आव २०७८।७९ मा १ सय ३८ वटा र आव २०७९।८० मा १ सय २७ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
आव २०७८।७९ भन्दा आव २०७९।८० मा ११ वटा कम उद्योग दर्ता भएका छन् । आव २०७९।८० मा सबैभन्दा बढी कृषि तथा वन पैदावारमा आधारित उद्योग दर्ता भए भने उर्जा मुलक,खनिज र सूचना प्रविधि,सञ्चार प्रविधि तथा सूचना प्रसारण प्रविधिमा आधारित कुनै पनि उद्योग दर्ता भएनन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी भट्टराईका अनुसार ७ वटा उत्पादनमुलक,११ वटा पर्यटनसंग सम्वन्धित,२० वटा पूर्वाधारसंग सम्वन्धित र १८ वटा सेवामुलक उद्योग दर्ता भएका छन् ।
आव २०७९।८० मा दर्ता भएका मध्ये १ सय १६ वटा निजी फर्मको रुपमा,८ वटा साझेदारी फर्मको रुपमा र ३ वटा कम्पनीको रुपमा दर्ता भएका छन् । सो आवमा ९४ वटा उद्योगको नविकरण,११ वटा उद्योगको नामसारी,४ वटा उद्योगको ठाउँसारी,६ वटा उद्योगको उद्देश्य थप र ८ वटा उद्योगको लगत कट्टा सम्वन्धी कारवाही भएको छ । १७ वटा उद्योगको दर्ता प्रतिलिपि बितरण,११ वटाको पुँजी बृद्धि,३ वटाको नाम परिवर्तन र अन्य २ वटा उद्योगको बिबिध प्रकृया सुधारका कार्य भएको कार्यालयले जनाएको छ ।
आव २०७९।८० मा कार्यालयले १ सय ५ वटा उद्योगको निरीक्षण गरेको छ । उद्योगको निरीक्षणको कार्य पछिल्ला आवहरुमध्ये सबैभन्दा बढी रहेको समेत घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । आव २०७९।८० मा ७९ वटा उपयुक्त प्रविधि हस्तान्तरण,९ वटा बजार अनुगमन,११ व्टा उद्योगको अनुगमन तथा निरीक्षण र ३ वटा बिबिध सभा समारोहका कार्यक्रम भएको समेत कार्यालयले जानकारी दिएको छ ।