बिपद् प्रभावित र अति बिपन्नका लागि सिरिजङ्गाद्धारा ‘गाउँ आवास कार्यक्रम’ घोषणा, कृषि क्षेत्रका लागि ‘उत्पादन हातमा,अनुदान साथमा’कार्यक्रम

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १२ । बिपद् प्रभावित र अति बिपन्न परिवारलाई आवासको हक सुनिश्चित गर्न ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले‘गाउँ आवास कार्यक्रम’अघि सारेको छ ।

आगामी आर्थिक बर्ष २०८०।८१ का लागि पालिका अध्यक्ष लालकृष्ण चौहानद्धारा प्रस्तुत ५९ बुँदे नीति तथा नीति तथा कार्यक्रमलाई तेह्रौं गाउँसभा अधिबेशनले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले मोतियाबिन्दुमुक्त र रेविजमुक्त गाउँपालिका बनाउने गरी नीति अघि सार्दै सोहि अनुसार बजेटको प्रवन्ध गरेको छ । स्वास्थ्य संस्थामा शीघ्र पहुँच स्थापनाका लागि‘एक टोल एक स्ट्रेचर कार्यक्रम’र प्रकृति र अवस्था हेरी निःशुल्क एम्बुलेन्स सहितको सेवा अघि सारेको गाउँपालिकाले जनाएको छ ।

कृषि क्षेत्रको लगानी बृद्धि गरिएको छ भने कृषि क्षेत्रको प्रोत्साहन र प्रवद्र्धनका लागि‘उत्पादन हातमा,अनुदान साथमा’भन्ने नीति अघि सारिएको छ । गाउँपालिकाले असारे विकासलाई नियन्त्रण गर्न नयाँ आर्थिक बर्षको भदौ महिनाबाटै पूर्वाधारका योजना सुरुआत गरी बैशाख महिना भित्रमा अनिवार्य सम्पन्न गर्नुपर्ने नीति ल्याएको छ । अनुगमन तथा मूल्याङ्कनमा एकरुपता ल्याउन अनुगमन क्यालेण्डर बनाई त्यसका लागि हप्ताको दुईदिन तोकिने भएको छ ।

बिपद्को पूर्व सूचनाका लागि पालिकाका ८ वटै वडाहरुमा मौसम पूर्वानुमानको स्वचालित औजार जडान गरिने भएको छ । शिक्षण सुधारका लागि बिद्यालयमा इमान्दार र कर्तव्यनिष्ठ भई काम गर्ने तथा गुणस्तरीय नतिजाका लागि योगदान दिने शिक्षकलाई मासिक तलव सुबिधामा थप बृद्धि सहितका कार्यक्रम पालिकाले समावेश गरेको छ । पूर्वाधार निर्माणमा महिला,बालबालिका तथा अपाङ्मैत्री संरचनामा पालिकाले जोड दिएको छ । यस्तै गुणस्तरीय र प्राविधिक शिक्षामा गाउँपालिकाले जोड दिएको जनाएको छ ।
सिरिजङ्गाको बजेट साढे ५० करोड बढीको
सिरिजङ्गा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०।८१ का लागि ५० करोड ५४ लाख ७० हजार १ सय रुपैयाँको बजेट ल्याएको छ । पालिका उपाध्यक्ष डाक्टर चित्र मावोले गाउँसभामा उक्त बजेट ल्याउनु भएको हो । नीति,कार्यक्रम र बजेटलाई सभाले पारित गरेको गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts