| |

खोक्लिङको निर्माणाधीन खानेपानी योजना अन्तिम चरणमा

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, जेठ २८ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङमा निर्माणाधीन बृहत खानेपानी योजनाको काम अन्तिम चरणमा पुगेको छ । ठेक्का प्रक्रियामार्फत सुरु गरिएको खोक्लिङ खानेपानी योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाँचथर र सुनकोसी निर्माण सेवा कम्पनीबीच २०७७ फागुन १५ गते सम्झौता भई खानेपानी योजनाको निर्माण कार्य प्रारम्भ भएको थियो । सुरुको सम्झौताअनुसार तोकिएको अवधिमा योजना निर्माणको कार्य सम्पन्न नभएपछि दोस्रो पटक आउँदो असार मसान्त सम्मलाई समय थप भएको र अब भने योजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो ।
स्थानीय पानीका मुहान (स्रोत) प्रयोग गरी सुरु गरिएको खानेपानी योजनाको हालसम्म करिव ९० प्रतिशत काम सम्पन्न भएको बताइएको छ । खानेपानी योजनाको मुख्य पाइपलाइन बिछ्याउने कार्य, २१ वटा इन्टेक, १५ वटा रिजर्भ ट्याङ्की लगायतका संरचना निर्माणको कार्य सम्पन्न भइसकेको छ । बाँकी घर–घरसम्म पाइप बिस्तार गर्ने लगायतका काम बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ ।
यता सुरुदेखि नै खानेपानी योजना निर्माणको काम सुस्त गतिमा भएको पाएपछि मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले निर्माण कम्पनीलाई पछिल्लो पटक तोकिएको समयभित्र काम सम्पन्न गर्नका लागि निरन्तर ताकेता गराउँदै आउनुभएको थियो । गाउँपालिका पदाधिकारीको दबाबसँगै निर्माण कम्पनीले कामलाई तीब्रता दिन थालेको र सोहीअनुसार काममा प्रगति भएको पाइएको छ ।
शनिबार पालिका अध्यक्ष कार्की, वडा नम्बर २ का वडाध्यक्ष झरेन्द्र थापा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारीसहितले खानेपानी योजनाको अनुगमनसमेत गरेको छ । अनुगमनका क्रममा काममा सन्तोषजनक प्रगति भएको र बाँकी निर्माणका कार्य तीब्र रुपमा भइरहेको पाइएको अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । थापाका अनुसार खानेपानी योजनाबाट सो वडाका करिव २५० घर परिवार लाभान्वित हुने छन् ।
यस खानेपानी योजनाको कुल बजेट दुई करोड रहेकोमा बोलपत्र (ठेक्का) को प्रक्रियामार्फत सुनकोसी निर्माण सेवा कम्पनीले ९५ लाख रुपियाँमा निर्माणको जिम्मा लिएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts