डिङ्जी काउन्टी सरकार र नेपालका जनप्रतिनिधि सहित सुरक्षा अधिकारीको भर्चुअल बैठक ः टिपताला नाका सञ्चालन प्राथमिकतामा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १२ । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारी र ताप्लेजुङका जिल्ला समन्वय समिति प्रमुख सहितका सुरक्षा अधिकारीको भर्चुअल बैठकले टिपताला नाका सञ्चालन सहितका बिषयमा द्धिपक्षिय कुटनीतिक पहल गर्ने सहमति गरेको छ ।

मंगलवार भएको भर्चुअल बैठक मुख्यत ४ वटा बिषयमा केन्द्रित रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समय देखि बन्द रहेको नेपाल–तिब्बत सीमा नाका टिपताला नाका सञ्चालनमा ल्याउन आ–आफ्नातर्फबाट कुटनीतिक पहल गर्ने सहमति भएको छ । यस्तै टिपताला देखि ओलाङचुङगोला सम्मको करिव २५ किलोमिटर ट्रयाक ओपन भएको सडकको स्तरोन्नती गरिदिन नेपाली पक्षले डिङ्जी काउन्टी सरकारका अधिकारी समक्ष प्रस्ताव गरेको छ । यस्तै सीमावर्ती फक्ताङलुङ गाउँपालिकाले आफ्नो क्षेत्रमा कम्तिमा दुईवटा मोटरेवल पक्की पुल निर्माण गरिदिन प्रस्ताव गरेको छ । आफुहरुको प्रस्तावलाई डिङ्जी काउन्टी सरकारका अधिकारीले सकारात्मक रुपमा लिएको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन(मुक्ति)लावुङ लिम्बूले जानकारी दिनुभयो ।

डिङ्जी काउन्टी स्थानीय सरकार र फक्ताङलुङ गाउँपालिकाका बीच थप सुद्रिढ स्थापित स्थापित गर्ने बिषयमा समेत दुबै पक्षका अधिकारी सहमत देखिएको फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष बिकास साम्रा(रविन)ले जानकारी दिनुभयो । भर्चुअल बैठकमा जनप्रतिनिधितर्फ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष लिम्बू,उपाध्यक्ष साम्रा,फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छेतेन वालुङ र कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पा सहभागी हुनुहुन्थ्यो ।

यस्तै सुरक्षा अधिकारीतर्फ प्रमुख जिल्ला अधिकारी चेम्जोङ,जिल्ला प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बू,सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति(सशस्त्र डिएसपी)बिनोद थापा र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत दुर्गाप्रसाद चापागाँई सहित सहभागी हुनु भएको थियो ।

 

Similar Posts