सिदिङ्वामा विभिन्न तालिम एकसाथ सुरु
-प्रयास लिम्बू
ताप्लेजुङ, कात्तिक ११ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा विभिन्न तालिम एकसाथ सुरु भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत छुट्टछुट्टै नौ प्रकारको तालिम मंगलबारदेखि एकसाथ सुरु भएको हो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार तालिमहरु मंगलबारदेखि एकसाथ सञ्चालन गर्न सुरु गरिएको छ । मानव संसाधन विकास कार्यक्रममार्फत सामाजिक, आर्थिक तथा मानवीय विकासलाई प्राथमिकतामा राखेर तालिमहरु सञ्चालन गर्न थालेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
पालिकाको प्रशासकीय केन्द्र साब्लाखुमा सुरु भएको तालिमको गाउँपालिका अध्यक्ष मानबहादुर राईले उद्घाटन गर्नुभएको छ । मंगलबार एकसाथ सुरु भएको तालिमहरुमा शिक्षण सीप विकाससहित नौ प्रकारका रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका आधारभूत र माध्यमिक विद्यालय तहमा कार्यरत गणित, विज्ञान तथा अङ्ग्रेजी विषयका ५४ जना शिक्षकलाई शिक्षण सीप विकास तालिम प्रदान गर्न सुरु गरिएको छ ।
यस्तै सहकारीको कोपोमिस तालिम सञ्चालन गर्न सुरु गरिएको छ । सहकारीसम्बन्धी तालिममा ३६ जना किसानलाई सहभागी गराइएको छ । यसैगरी ४१ जनालाई सहभागी गराएर मन्टेस्वरी तालिम सुरु गरिएको निमित्त प्रमु्ख प्रशासकीय अधिकृत अधिकारीले जााकारी दिनुभयो । कुक (पाक शिक्षा) तालिम पनि सुरु भएको र पाक शिक्षा तालिममा ३० जना सहभागी भएका छन् ।
त्यस्तै सवारी चालक (ड्राइभिङ) तालिम सञ्चालन गर्न सुरु गरिएको छ । ड्राइभिङअन्तर्गत कार र ट्रयाक्टर चालकका लागि सात–सात जनालाई तालिम प्रदान गर्न लागिएको हो । समान २१–२१ जनाको सहभागितामा सिकर्मी, डकर्मी र कम्प्युटर शिक्षा तालिम दिन सुरु गरिएकोे छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार वडाहरुबाट सिफारिस भई आएकाहरुलाई तालिममा सहभागी गराइएको छ ।
तालिम उद्घाटनमा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना), विभिन्न वडाका अध्यक्षलगायत अन्य जनप्रतिनिधि र कर्मचारीहरु उपस्थित हुनुभएको थियो । तालिममा विषयगत दक्ष तथा अनुभवी प्रशिक्षकले प्रशिक्षण दिइरहनुभएको स्थानीय सञ्चारकर्मी ओमेन्सा राईले जानकारी दिनुभयो । गाउँपालिकाका अनुसार तालिम सञ्चालन अवधि १८ देखि ७२ घण्टा सम्मको रहेको छ ।