| |

सामुदायिक वन महासंघ जिल्ला अध्यक्षमा पुनः ओझा

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ८ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङको अध्यक्षमा सुरज ओझा निर्वाचित हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न महासंघको छैटौं जिल्ला अधिवेशनले ओझालाई पुनः दोस्रो कार्यकालका लागि अध्यक्षतामा निर्वाचित गरेको हो ।
जिल्ला अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा सीता राई, सचिवमा कमला पालुङ्वा र कोषाध्यक्षमा घनेन्द्र थापा चयन हुनुभएको छ । कार्यसमितिमा जिल्लाका नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाबाट तीन–तीन र बाँकी स्थानीय तहबाट दुई–दुई जनाको प्रतिनिधित्व रहेको छ ।
अध्यक्ष र सचिव तथा उपाध्यक्ष र कोषाध्यक्षमा एकजना अनिवार्य महिलाको प्रतिनित्व हुनुपर्ने महासंघको विधानमा भएको व्यवस्थाअनुसार अधिवेशनबाट कार्यसमिति चयन गरिएको निर्वाचन समिति संयोजक अधिवक्ता धनबहादुर थापाले जानकारी दिनुभयो । संयोजक थापाले नवनिर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यलाई शुक्रबार पद तथा गोपनीयताको सपथग्रहण साथै निर्वाचित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
जिल्ला अधिवेशनको कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङ्गामले उद्घाटन गर्नुभएको थियो । यस्तै उद्घाटनमा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय कोषाध्यक्ष पार्वता गौतम, कोशी प्रदेश समितिका अध्यक्ष तुलसीप्रसाद संग्रौलालगायतको उपस्थिति रहेको थियो । जिल्ला कार्यसमितिको कार्यकाल चार वर्षको हुने नवनिर्वाचित अध्यक्ष ओझाले जानकारी दिनुभयो ।

Similar Posts